आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एमालेको विवाद समाधान हुन नदिन भ्रमपूर्ण प्रचार गरियो : पृथ्वीसुब्बा गुरुङ

दैनिक नेपाल २०७८ साउन २९ गते १२:२९

काठमाडौं, २८ साउन । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको आन्तरिक विवाद समाधान नहोस् भन्ने उद्देश्यका साथ पार्टी नेतृत्व र आफूविरुद्ध भ्रमपूर्ण प्रचार शुरू गरिएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीका कारण एमाले खरानी भएको भन्दै गरिएको अनर्गल प्रचारप्रति आपत्ति जनाउँदै उनले आफू र पार्टीविरुद्ध अनर्गल प्रचार भइरहेको भन्दै खण्डन गरेका छन् । गुरुङको सचिवालयले आज शुक्रबार विज्ञप्ति जारी गर्दै नामै नसुनिएका मिडियामा गुरुङले बोलेको भनी आएका प्रोपोगाण्डाको भ्रममा नपर्न आग्रह गरेको छ ।

प्रेस संयोजक विक्रम न्यौपानेले जारी गरेको विज्ञप्तिमा एमाले नेतृत्व र पीएस गुरुङलाई बदनाम गर्ने मनसायले यस्ता प्रचार भइरहेको उल्लेख गरिएको छ । गुरुङ एमाले अध्यक्ष ओलीको सबल र सक्षम नेतृत्वको पक्षमा रहेको र पछिल्लो समय पार्टी विभाजन रोक्न सक्रिय भएको भन्दै यस्तो बेलामा एमालेमा थप विवाद ल्याउन र विवाद समाधान नहोस भन्ने उद्देश्य राखेर गलत प्रचार भएको विज्ञप्तिमा उल्लेख छ ।

माधव नेपाल पक्षधर नेताहरुले गुरुङको भनाइ भन्दै प्रचारित सामग्रीहरु सामाजिक सञ्जालमा शेयर गर्न थालेपछि गुरूङको सचिवालयले विज्ञप्ति जारी गरी खण्डन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित