शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अफगानिस्तान युद्ध: दोस्रो ठूलो सहर कान्दहारमा पनि नियन्त्रण गरेको तालिबानको दाबी

दैनिक नेपाल २०७८ साउन २९ गते ११:३०

कान्दहार, २९ साउन । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ ।

उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ । उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो ।

अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीवार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो ।

यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन् ।

अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनः काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन् ।

एकजना तालिबानका प्रवक्ताले ूकान्दहार पूर्ण रूपमा जितिएको छू भन्ने घोषणा गरेका छन् तर त्यसलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन । स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन् ।

यद्यपि त्यसको पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन । तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ ।

उसले हालसम्म देशको एक तिहाइ भू(भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित