
काठमाडौं, २९ साउन । पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं अध्यक्ष एवं प्रधान सम्पादक रहेको अनलाइन पोर्टल ‘ओके कान्तिपुर’लाई प्रेस काउन्सिल नेपालले प्रतिबन्ध गरेको छ ।
विगत केही महिनादेखि सञ्चालनमा रहेको उक्त पोर्टलविरुद्ध काउन्सिलमा उजुरी परेको थियो । उजुरीका आधारमा काउन्सिलले छानविन गरी उक्त पोर्टललाई प्रतिबन्ध गरिएको बताइएको छ ।
मिडिया सञ्चालक समितिलाई काउन्सिलले विनादर्ता सञ्चालन, लकडाउनका बेला रू. दुई सयमा प्रेस पास बेचेकोलगायत विषयमा परेको उजुरीउपर छानविन गरी जवाफ माग गर्दा जवाफ पेश गर्न नसकेको प्रेस काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार छानविनका क्रममा अध्यक्ष चौलागाईंले २०७४ मंसिर २९ गते रातो गुराँस डट कम नाम राखी काउन्सिलमा सूचीकरण गराई न्यूज पोर्टल सञ्चालन गरेको भेटिएको तर हाल उक्त पोर्टल हेर्दा अश्लील खालका सामग्री र विदेशी भाषाका केही सामग्रीहरु मात्रै पोष्ट गरिएको फेला परेको थियो ।
हाल सोही समयको रातोगुराँसको विवरण राखी ओके कान्तिपुरका नाममा सूचीकरण भएझैँ सञ्चालन गरिएको ओके कान्तिपुर अनलाइन पोर्टललाई भ्रम छरेर सरकारी कागज र अभिलेख दुरुपयोग गरेको ठहर गर्दै काउन्सिलले नेपालभित्र प्रकाशन गर्न प्रतिबन्ध गरेको बताएको छ ।
अध्यक्ष चौलागाईंले बठ्याँइ गर्दै पुरानो विवरणलाई नयाँ नाम ओके कान्तिपुर बनाई देशकै ठूलो मिडिया कान्तिपुरको नाम जोडेर दोलखामा सबै क्षेत्रलाई प्रभाव पार्दै आएका थिए । नेपालको कानुनमा अन्य कुनै मिडियासँग नाम जोडेर नयाँ छुट्टै नाम दर्ता गर्न मिल्दैन ।
ओके कान्तिपुर, ओके गोरखापत्र वा ओके हिमालय टायम्स जस्ता नाम दर्ता गर्दै जाने हो भने सबै चर्चामा आएका मिडियाका नाम मात्रै दोहोरिने सम्भावना हुन्छ । यो कुनै नीति नियममा भएको कुरै होइन । त्यसैले यो कानुन विपरित हुने काउन्सिलका एक कर्मचारी बताउँछन् ।
यी र यस्ता खालका गतिविधि हुन नदिन र पत्रकारहरुलाई पनि मिडियाभित्र विकृति ल्याउन नदिन सचेत गराउँदै प्रेस काउन्सिलले २०७८ साउन १८ गते आचारसंहिता उपसमितिको बैठक बसी पत्रकार महासंघलाई समेत पत्राचार गरेको छ ।
यसका साथै समाजमा भ्रम फैलाउने, पत्रकारिताका नाममा झूठा खेती गर्ने, अन्य क्षेत्रलाई धम्क्याउने र शक्तिको दुरुपयोग गर्ने मिडिया देखिएमा काउन्सिलमा तत्कालै उजुरी गर्न पनि आह्वान गरेको छ ।















प्रतिक्रिया