शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लुम्बिनीको सत्तामा निर्णायक बनेकी विमला ओली पनि मन्त्री बन्दै

दैनिक नेपाल २०७८ साउन २८ गते १५:५२

बुटवल, २८ साउन । लुम्बिनीको सरकार हेरफेरका क्रममा सबैभन्दा चर्चामा आएर निर्णायक मानिएकी विमला ओली नयाँ सरकारमा मन्त्री बन्ने भएकी छिन् ।

२०७६ मंसिरमा भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी तत्कालीन नेकपाबाट विजयी ओली एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि कहिले माओवादी त कहिले एमालेमा रहेको भन्दै पटक–पटक चर्चामा आउने गरेकी छिन् ।

२०७७ फागुन २३ गते नेकपा खारेजीमा परेर एमाले र माओवादी ब्यूँतिएपछि उनी शुरूमा आफू माओवादी केन्द्रमा जाने बताइन् । कांग्रेस र माओवादीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव हाल्दा उनी निर्णायक थिइन् ।

तर उनैले रातारात आफूलाई परिवर्तन गराएर एमालेको कित्तामा उभ्याइन् । मुख्यमन्त्री पोखरेललाई हटाउने कुरामा निर्णायक खेलाडी बनेकी उनी संसदीय राजनीतिलाई नै प्रश्न उठ्ने गरी यताउता गरिरहिन् ।

कहिले एमाले त कहिले माओवादीतिर लागिरहेकी उनी पछिल्लो पटक साउन १६ गते एउटा विज्ञप्ति जारी गरी आफू एमालेमै रहेको बताइन् । तर, बार्गेनिङका क्रममा एमालेबाट भन्दा फाइदा माओवादीबाट हुने बुझेपछि उनले मुख्यमन्त्री निवासबाटै आफूलाई परिवर्तन गरेर माओवादी कित्तामा पुगिन् ।

शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न निर्णायक बनेकी उनैलाई नयाँ मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्री बनाउने भएका छन् । केसीले आजै अपरान्ह ४ बजे मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित