८ कार्तिक २०८३, आइतबार

सर्वोच्च अदालतले निर्दलीयतालाई प्रश्रय दियो : सांसद सिग्देल

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँका अध्यक्ष एवं तनहुँ–२ का सांसद केदार सिग्देलले अदालतको फैसलाले निर्दलीयतालाई प्रश्रय दिएको बताएका छन् ।

दलीय क्षेत्राधिकारभित्र गएर सर्वोच्च अदालतले व्यक्ति नै किटेर प्रधानमन्त्री तोक्दा देशमा लोकतन्त्र नै खतरामा परेको उनको भनाइ छ । जनताको अभिमतविरुद्ध परामादेशमार्फत प्रधानमन्त्री तोक्नु अलोकतान्त्रिक भएको भन्दै उनले सर्वोच्च अदालत जस्तो सम्मानित संस्थाले पनि संविधानको धारा ७६ (५) को व्याख्यालाई अपव्याख्या गर्दा लोकतन्त्र नै खतरामा परेको बताए ।

जिल्लाको दभुङ्ग चण्डीदेवी गुठी भवनको समुदघाटनका अवसरमा सोमबार सांसद सिग्दलले दलीय व्यवस्थामा संविधानको धारा ७६ को ५ मा दलीय ह्वीप लाग्दैन भनेर अदालतले भन्नु न्यायसंगत नहुने जिकिर समेत गरेका छन् । ‘लोकतन्त्रमा दलीय व्यवस्था नै मुख्य हो, दलीय व्यवस्थाबाहिर गएर निर्दलीयताउन्मुख व्याख्या गर्नु संविधानविपरीत हुन्छ,’ उनले भने, ‘यसले दीर्घकालसम्म असर पुर्याइरहन्छ । न्यायमूर्तिहरूले दलीय व्यवस्थामाथि धावा बोलेर अराजकताको सृजना गरेका छन् ।’

स्थानीय पूर्वाधार कार्यक्रमअन्र्तगतको ०७७/७८ को भवन उद्घाटन कार्यक्रममा व्यास नपा–५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले ३ तहको सरकारको काम कारवाही जनतालाई बुझाउन नसक्दा जनता रनभुल्लमा परेको बताए । जिम्मेवारी पूरा नगर्ने तर अर्को पक्षलाई देखाएर भाग्न नमिल्ने श्रेष्ठले बताए । संस्थाका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा संस्थाका उपाध्यक्ष काजीमान श्रेष्ठ, निर्माण समितिका अध्यक्ष बीबी श्रेष्ठलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, कार्यालय सचिव राजेश्वर ढकाल, दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीलगायतको उपस्थिति थियो ।