८ कार्तिक २०८३, आइतबार

यी पत्रकारले पाउने भए फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपाल आदिवासी जनताती पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७’, ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७८’ र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’ प्राप्त गर्ने पत्रकारहरूको नामावली सर्वजनिक गरेको छ ।

पुरस्कार तथा सम्मानको छनोटका लागि फोनिजको संघीय सचिवालय बैठकले गठन गरेको छनोट समितिले प्रक्रियाबमोजिम पुरस्कार र सम्मानका लागि पत्रकार र संस्थाको नाम छनोट गरेको छ । समितिले छनोट गरेको नाम फोनिजको संघीय सचिवालयले मनोनित गरेपछि आज सार्वजनिक गरिएको हो ।

जस अनुसार फोनिज अवार्ड–२०७७ प्राप्त गर्नेमा छापा माध्यमबाट आङदावा शेर्पा (गोरखापत्र शेर्पा भाषा पृष्ट संयोजक), रेडियो माध्यमबाट मौसम रोकामगर (जलजला एफएम, रोल्पा), टेलिभिजन माध्यमबाट कुमार यात्रु (तामाङ) (इन्डिजिनियस टेलिभिजन) र अनलाइन माध्यमबाट राजकुमार दिक्पाल (स्वतन्त्र पत्रकार, पोर्चुगल) छन् ।

त्यस्तै आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ प्राप्त गर्नेहरूमा छापा माध्यमबाट तिलक पुन (स्वतन्त्र पत्रकार, कास्की), रेडियो माध्यमबाट रचना श्रेष्ठ (रेडियो नेपाल, काठमाडौं), टेलिभिजन माध्यमबाट झापाका इन्द्रजीत मुखिया र अनलाइन माध्यमबाट भवानी बराल (झिल्को डटकम) छन् ।

यसैबीच फोनिजको संघीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तान्छोपा मासिक संयुक्त रुपमा सम्मानित हुने छन् ।

फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मानको राशी २०/२० हजार रुपैयाँको छ । फोनिज अवार्ड, फोनिज मातृभाषा पत्रकारिता सम्मान फोनिजको २२औं स्थापना दिवसको अवसरमा २०७८ साउन २७ गते अपराह्न २ बजे काठमाडौंमा हुने कार्यक्रममा वितरण गरिने छ ।

साथै, सोही अवसरमा फोनिज यूके शाखाले प्रदान गर्ने ‘फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार’ पनि प्रदान गरिने छ ।

फोनिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)’ गतवर्ष कोरोना भाइरस महामारीका कारण रोकिएकोमा दुवै वर्षका लागि विभिन्न विधामा ८ जना पत्रकार छनोट गरिएको बताइएको छ ।