
काठमाडौं, २२ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको जबरजस्ती करणी लगायतका अपराधहरूलाई नियन्त्रण गर्न प्रनेपाल प्रहरीले विशेष चनाखो भएर काम गर्नुपर्ने बताएका छन् ।
आज शुक्रबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा आयोजित नेपाल प्रहरीको असार महिनाको मासिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले अपराधजन्य क्रियाकलापहरुमा कमी आएको समेत बताएका छन् । तर, जघन्य अपराध, फरार अभियुक्त पक्राउ, जबरजस्ती करणी लगायतका अपराधहरु समेतलाई नियन्त्रण गर्न प्रहरीले विशेष चनाखो भई कार्ययोजना बनाउँदै लैजानुपर्नेमा उनले जोड दिएका छन् ।
सो कार्यक्रममा उनले अपराध नियन्त्रणका लागि सोहीअनुरुप थप कार्ययोजना बनाई कार्यसम्पादन गर्न भर्चुअल रुपमा उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
लागूऔषध कारोबारमा संलग्न पक्राउ तथा लागूऔषध बरामद सम्बन्धमा प्रहरीले यस वर्ष उल्लेखनीय कार्य गरेको बताउँदै उनले लागूऔषधको मागलाई नियन्त्रण समेत गर्नुपर्नेतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गरे । आत्महत्या नियन्त्रणका लागि थप संवेदनशील हुँदै अन्य सरोकारवाला निकायसँग समेत समन्वय गरी काम गर्नुपर्ने उनले उल्लेख गरे ।

चोरी निकासी पैठारी एवम् लागूऔषध नियन्त्रण तथा राजश्व छलि विरुद्ध अझ सक्रिय रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थित सबै प्रदेशका प्रहरी प्रमुख तथा प्रतिनिधिहरुलाई उनले थप निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ को प्रभाव अझै कायम रहेकाले यसप्रति संवेदनशील भई यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी गर्न निर्देशन दिँदै आ–आफ्नो क्षेत्रमा रहेका प्रहरी अस्पतालको सेवा सुविधा बढाउनाका साथै आवश्यक साधन स्रोतको समेत तयारी गर्नेतर्फ जोड दिएका छन् ।
साथै जनचेतनामूलक कार्यक्रम मार्फत कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासहरुलाई अझ बढी सक्रियताका साथ कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति थियो ।















प्रतिक्रिया