शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दार्चुलामा तुइन काटिएको घटना : भारतीय एसएसबीकै इसारामा प्रतिवेदन तयार पारिँदै

नेपाली भूमी नटेकी रुखको नाप लिएर फर्कियो छानबिन टोली

दैनिक नेपाल २०७८ साउन २२ गते ११:४३

दार्चुला, २२ साउन । भारतीय एसएसबीका जवानले तुइनको तार काटिदिएपछि जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ ।

भारतीय एसएसबीको प्रत्यक्ष निगरानीमा घटनास्थल पुगेको छानबिन टोली नेपाली भूमितर्फ पाइलै नपारी तुइनको तार बाँधिएको रुखको नापजाँच लिएर फर्किएको छ । यसरी भारतीय एसएसबीको प्रत्यक्ष निगरानीमा पुगेको टोलीले निष्पक्ष प्रतिवेदन तयार पार्नेमा थुप्रै आशंकाहरु पैदा भएका छन् ।

घटनाप्रति सरकारले आफ्नो धारणा बनाउन छानविन टोलीको प्रतिवेदन कुर्नु, प्रत्यक्षदर्शीले बताएको कुराहरुमा सरकारले विश्वास नगर्नु, छानबिन टोली नेपाली भूमी टेक्दैनटेकी फर्किनु, सहजीकरणको बहानामा भारतीय एसएसबीको प्रत्यक्ष निगरानीमा छानविन टोली रहनु र टोलीले रुखमा तार बाँधिएको कुनै ठोस प्रमाण नभेट्नुलगायत तथ्यले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका उब्जिएको हो ।

भारतीय एसएसबीको रोहबरमा घटनास्थल पुगेको छानबिन टोलीविरुद्ध स्थानीयहरूले त प्रदर्शन नै गरेका छन् । सरकारी समाचार संस्था राससका अनुसार नेपालतिरबाट छानबिन समिति नआएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ताको नेतृत्वमा स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका छन् । उनीहरुले राष्ट्रिय झण्डा र चन्द नेतृत्वको झण्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न माग गरेका थिए ।

‘एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य छैन,’ चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव सुवास मल्लले भने, ‘आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको हामीले भन्दा पनि जनताले नै विरोध गरेका हुन् ।’

आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ?, आफैँ अनुमान लगाउनुस्,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित