अफगानिस्तान, १९ साउन । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको छ ।
अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ ।
उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको बताइएको छ । ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएको बीबीसीले जनाएको छ ।
विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको छ । बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू(भागहरू कब्जा गरिरहेको छ ।
हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो । उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ ।
यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको छ ।
त्यहाँको विमानस्थलमा आइतवार रकेट हमला भएको थियो । कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ । त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ ।















प्रतिक्रिया