बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एन्फा प्रवक्ताको राजीनामालगत्तै मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

दैनिक नेपाल २०७८ साउन १८ गते १६:३६

काठमाडौं, १८ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले राजीनामा दिएलगत्तै राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् ।

आफ्नो अभिव्यक्तिलाई लिएर संस्थामा विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो । उनको अभिव्यक्तिलाई लिएर एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले कारबाहीको माग गरेपछिको विवाद विभागीय मन्त्रालयसम्म पुगेको छ ।

तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अल्मुताइरीबीचको विवादकै कारण उल्लेख गर्दै आजै मात्र एन्फाका प्रवक्ता किरण राइले पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामालगत्तै अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै माफी मागेका हुन् ।

‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु ।’

आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टीमसँग जोडिन पाएकोमा खुशी रहेको उल्लेख गर्दै उनले आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको स्पष्टीकरण दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित