८ कार्तिक २०८३, आइतबार

चाबहिलको हेल्दी स्माइल ओमकार डेण्टलबाट इजाजतपत्रविनाका ‘डाक्टर’ पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । इजाजतपत्रविनै विरामीको उपचारमा संलग्न एक जना ‘डाक्टर’लाई प्रहरीले चाबहिलबाट पक्राउ गरेको छ ।

इजाजतपत्रबिना बिरामीको उपचारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–७ बस्ने भारत घर भएका ३१ वर्षीय सौरभ कुमारलाई काठमाडौंको चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट शनिबार प्रहरीले पक्राउ गरेको हो ।

साथै उक्त कार्य गर्न सहजीकरण गर्ने काठमाडौं चाबहिल बस्ने महोत्तरी पिपरा गाउँपालिका–३ घर भएका ४० वर्षीय डा. रावेत रञ्जन कुमार ठाकुर र दोलखा बैतेश्वर गाउँपालिका–६ घर भएका सो हेल्दी स्माइल ओमकार डेण्टलका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त प्रालिमा चिकित्सासम्बन्धी पेशा गर्ने कानूनबमोजिम अधिकार प्राप्त अधिकारीबाट इजाजतपत्र प्राप्त नगरेका भारतीय नागरिकले चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेकजाँच तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज र नेपाल मेडिकल काउन्सिल समेतबाट खटिएको टोलीले सौरभलाई इजाजतपत्रबिना दाँतसम्बन्धी बिरामीको उपचार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ईलाजसम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।