८ कार्तिक २०८३, आइतबार

म्याद गुज्रिएका दुई करोड रुपैयाँ बराबरको कस्मेटिक्स सामानमा नयाँ मिति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नयाँ मिति राखेर म्याद गुज्रिएका सामानमा विक्रीवितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याद गुज्रेका विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखेर विक्री गरेको अभियोगमा करिब २ करोड मूल्य बराबरको सामानसहित ती दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–१३ घर भएका ३१ वर्षीय अबिनास अग्रवाल र काठमाडौं महानगरपालिका–१५ सानो भर्याङ बस्ने भारत राजस्थान सिकर घर भएका ४१ वर्षीय महावीर गजुर छन् ।

उनीहरूले विभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मितिलाई उप्काई स्टिकरमा नयाँ मिति राखी बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

साथै काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको घरबाट करिब १ करोड रुपैयाँ बराबरको पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी गरी राखेको म्याद गुज्रेका कस्मेटिक सामान र काठमाडौं महानगरपालिका–२२ भोटेबहालको गोदामबाट १ करोड रुपैयाँ बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु गरी जम्मा २ करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमल काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।