शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

फ्रान्सेली सुपर कप लिलद्वारा कब्जा

दैनिक नेपाल २०७८ साउन १८ गते ७:२८

पेरिस, १८ साउन । पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै लिल फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स)को च्याम्पियन बनेको छ ।

पीएसजीलाई १–० ले पराजित गर्दै फ्रान्सेली लिग वान च्याम्पियन लिल च्याम्पियन बनेको हो । ब्लुमफिल्ड स्टेडियम तेल अभिभ याफा इजरायलमा आइतबार राति भएको खेलमा लिललाई च्याम्पियन बनाउन पोर्चुगिज मिडफिल्डर छेकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले ४५औं मिनेटमा बुराक यिल्माजको पासमा गोल गरेका थिए । बल पोसेसनमा बलियो पकड बनाएपनि पीएसजी फिनिसिङमा चुक्दा उपाधिबाट वञ्चित हुन पुग्यो । पीएसजी आफ्नो मुख्य फरवार्डद्धय केलियन एमबाप्पे र नेयमारविनै मैदान उत्रिएको थियो ।

जुलियन ड्राक्सलर मोउरो इकार्डी र अर्नाउड कालीमुन्डो मुइनगाले पीएसजीको अग्रपङ्ति सम्हालेपनि उनीहरुले लिलको बलियो रक्षापङ्ति तोड्न सकेनन् । नेयमार छुट्टीमै रहँदा एमबाप्पे टोलीको प्रशिक्षणमा रहेपनि प्रशिक्षक मौरिसियो पोचेटिनोले २३ सदस्यीय टोलीमा समेटेनन् ।

चोटका कारण यसै समरमा पीएसजी पुगेका सर्जियो रामोस पनि टोलीमा थिएनन् । यसै समरमा इटालियन क्लब इन्टर मिलानबाट पीएसजी पुगेका अचरफ हाकिमीले पहिलो रोजाईमा मौका पाउँदा अर्का नेयाँ खेलाडी जर्जिन्हो वाइनाल्डमले दोस्रो हाफमा १९ मिनेट मैदान बिताएका थिए । लिलले भने आफ्नो पहिलो रोजाईकै टोलीलाई मैदानमा उतारेको थियो ।

लिलको यो पहिलो उपाधि हो । सर्वाधिक सफल पीएसजीले १० पटक फ्रान्सेली सुपर कपको उपाधि जितेको छ । पीएसजी सन् २०१३ देखि सन् २०२० सम्म लगातार च्याम्पियन बनेको थियो । तर पीएसजीले यसपटक उपाधि रक्षा गर्न सकेनन् ।

फ्रान्सेली लिग वान च्याम्पियन र कप डि फ्रान्सको च्याम्पियनबीच फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) खेल्ने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित