शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘वासुदेव लुइँटेल पुरस्कार’ पाउने भएपछि हास्य कलाकार किरण केसी दङ्ग

दैनिक नेपाल २०७८ साउन १७ गते १४:१७

काठमाडौं, १७ साउन । यस वर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ हाँस्य कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ ।

कलाकार केसीलाई वासुदेव–विद्यादेव लुइँटेल गुठीले ‘वासुदेव लुइँटेल पुरस्कार ०७७’ दिने घोषणा गरेको हो । गत शुक्रबार बसेको गुठीको बैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाइसकेका केसीलाई प्रतिक चिह्न र कदरपत्रसहित १ लाख ११ हजार १११ रूपैयाँ राशीको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी प्रदान गर्ने गरेको छ । हाँस्यव्यङ्ग्य, साहित्य, कला र अभिनयका क्षेत्रबाट सृजनशील प्रतिभाहरूमध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ ।

वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडेलगायत लेखकका हाँस्यव्यङ्ग्यसम्बन्धी दर्जनौं पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हाँस्यव्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदान गर्ने सुरुवात गरेका थिए ।

कलाकारसँगै फिल्म निर्माता समेत रहेका केसीले पछिल्लो समय चलचित्र ‘लक्काजवान’ निर्माण गरेका थिए । उक्त चलचित्र रिलिजका लागि तयारी अवस्थामा रहे पनि कोरोना भाइरसको महामारीका कारण प्रदर्शन हुन् सकेको छैन । यसका साथै उनी पछिल्लो समय विज्ञापन, म्यूजिक भिडियो, टेलिफिल्ममा व्यस्त छन् ।

‘मलाइ यो पुरस्कारले अझै दायित्व थपेको छ । आफ्नो कलाकारिता यात्रामा निरन्तरता दिइरहँदा प्राप्त हुने यस किसिमको सम्मान र पुरस्कारले म र म जस्तो कलाकर्मीलाई अवश्य उर्जा थप्छ,’ कलाकार केसीले भने, ‘आफ्ना अग्रजले प्राप्त गर्दै आइरहेको यो पुरस्कार यसपटक मैले पाउने जानकारी पाएसँगै दंग छु । आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारितामार्फत दर्शकहरूलाई अझै मनोरञ्जन प्रदान गर्ने छु ।’

प्रतिक्रिया
सम्बन्धित