८ कार्तिक २०८३, आइतबार

आकर्षक तलबको लोभमा फसेका दुई किशोरी झण्डै बेचिए, लक्ष्मी र खुश्बु पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १४ साउन । छिमेकी मुलुक भारतमा आकर्षक तलबको लोभमा फसेका दुई जना किशोरी बेचिनबाट बल्लतल्ल जोगिएका छन् ।

झापाका १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानोमा पुर्याई बेचबिखन गर्न लागेको अवस्थामा नेपाल प्रहरीले उनीहरुको उद्धार गरेको हो । साथै प्रहरीले ती किशोरीलाई बेचबिखन गर्न लागेका दुई जना महिलालाई पनि पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ इनरुवाबाट मंगलबार उनीहरूलाई प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरुमा झापाको विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा छन् ।

उनीहरूले झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको हो ।

थप अनुसन्धानको क्रममा उनीहरुले ती किशोरी र युवतीलाई वीरगञ्जमा अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभनमा पारी वीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्याउने भन्दै झुक्याई भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको खुल्न आएको प्रहरीले बताएको छ ।

उनीहरुउपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साथै उक्त घटनामा संलग्न हाल फरार अन्य ३ जनाको समेत प्रहरीले खोजी गरिरहेको छ ।