शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

देउवासँगको परामर्शपछि माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

दैनिक नेपाल २०७८ साउन १४ गते १२:१६

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

नेपालनिवास कोटेश्वर पुगेर प्रचण्डले नेता नेपालसँग भेटवार्ता गरेका हुन् । मंगलबार माओवादी केन्द्र स्थायी कमिटी बैठकमा माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने ब्रिफिङ गरेका प्रचण्ड नेपाल समूहलाई सरकारमा सहभागी गराउन दौडधूपमा लागेको छन् । सोही विषयबारे प्रचण्डले नेता नेपालसँग परामर्श गरेका हुन् ।

एमालेभित्र आन्तरिक एकताको प्रक्रिया चलिरहेको भए पनि प्रचण्डले एमाले त्यागेर सत्तामा आउने नेता नेपाललाई आग्रह गर्दै आएका छन् । सकेसम्म एमालेमा एकता नहोस् भन्ने चाहनाका साथ प्रचण्डले नेता नेपाललाई सत्तामा आउन आग्रह गरिरहेका हुन् ।

यसअघि बुधबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा माधव नेपाल पक्षका नेता डा. विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए । यद्यपि, मन्त्रिपरिषद् विस्तारको गृहकार्य चलिरहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता तीब्र बनाएका छन् ।

प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् । त्यसलगत्तै प्रचण्डले माधवकुमार नेपालसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान देउवासँग भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित