शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

माधव नेपालको नयाँ माग : पार्टी एकता बचाउने हो भने मलाई संसदीय दलको नेता बनाउनुपर्छ

दैनिक नेपाल २०७८ साउन १४ गते ११:१३

काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता बचाउने हो भने आफूलाई संसदीय दलको नेता बनाउनु पर्ने माग राखेका छन् ।

एमाले एकताका लागि अन्तिम प्रयास भइरहेका बेला नेता नेपालले थप माग अगाडि सारेका हुन् । उनले यसअघि आफूलाई पार्टीको निर्णय प्रक्रियामा हस्ताक्षरसहितको दोस्रो अध्यक्षको माग गर्दै आएका थिए ।

त्यसअघि केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । यसबीचमा उनकै कारण आफ्नै दलको नेतृत्वमा रहेको सरमार ढलेपछि अहिले केपी ओली पदमुक्त भइसकेका छन् भने पार्टी अध्यक्ष यथावत छन् । तर, नेता नेपालले भने समयक्रमसँगै पार्टी एकता नहोस् भन्ने आशयका साथ एकपछि अर्को मागहरू राख्दै आएका छन् ।

यस्तै मागहरू राख्ने क्रममा उनले पछिल्लो समय संसदीय दलको नेता बनाए पार्टी एकता हुने बताउन थालेको स्रोतको दाबी छ । ‘माधवकुमार नेपालले अहिले पार्टी एकता गर्ने हो भने आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग राख्नु भएको छ,’ स्रोतले भन्यो ।

संसदीय दलको नेतामा स्वीकारे अन्य कुरामा कन्सिडर गरेर अघि बढ्न सकिने अन्यथा एमालेबाट अलग हुने जवाफ माधव पक्षले ओली पक्षलाई दिएको बताइएको छ । यसबाट नेता नेपाल कुनै पनि हालतमा एमालेमा रहन नचाहेको वा ओली रहेको पार्टीमा सँगै बस्न नसक्ने सङ्केत स्पष्ट दिएको पाउन सकिन्छ ।

एमालेमा हाल केपी शर्मा ओली संसदीय दलका नेता छन् । यसबारे एमालेको दुवै पक्षबीच छलफल हुन भने बाँकी छ । ओली एकताका निम्ति केही लचक भए पनि माधव नेपाललाई संसदीय दलको नेता नै बनाउन तयार हुने अवस्था भने निकै कम छ ।

एमाले एकताका लागि अहिले दोस्रो तहका नेताहरू निरन्तर लागिपरेका छन् । तर, शीर्ष नेतामा भएको नयाँ–पुराना कुण्ठाका कारण एकता हुने सम्भावना अझै देखिएको अवस्था छैन । एकता प्रक्रियामा रहेको नेता नेपाल समूहले सत्ता गठबन्धनमा पनि आफ्नो सक्रिय संलग्नता देखाइरहेकोले एकतामा खासै प्रगती हुने स्थिति तत्काललाई देखिदैन ।

प्रतिक्रिया
सम्बन्धित