शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमाले नेता माधव नेपालमाथि लाग्यो थारु समुदायप्रति अपमान गरेको आरोप

दैनिक नेपाल २०७८ साउन १२ गते १४:२६

काठमाडौं, १२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि थारु समुदायप्रति अपमान गरेको आरोप लागेको छ ।

नेता नेपाललाई आफ्नै पार्टी नेकपा एमालेकी सांसद गंगा चौधरीले यस्तो आरोप लगाएकी हुन् । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले नेता माधवकुमार नेपालबाट संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारमुनी रानामाथि भएको दुर्व्यवहार सिङ्गो थारु समुदायमाथिको अपमान भएको बताएकी हुन् ।

उनले साउन १० गते समितिभित्र भएको घटनालाई समस्त थारु समुदायको अपमानको रुपमा लिन सकिने उल्लेख गर्दै भनिन्, ‘समान हैसियतको सांसदलाई निस्केर जा भन्ने ? समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भयो । बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।’

नेता नेपालले समितिको बैठकमा रानामाथि खनिदै प्रतिगमनको मतियार बन्ने भए सांसदबाट राजीनामा दिएर बैठक कक्षबाट बाहिर जान भन्दै थर्काएका थिए । उनले सांसद रानालाई चोर औँला देखाएर भनेका थिए, ‘तपाई प्रतिगमनको मतियार बन्ने ? प्रतिगमनको मतियार भएर बोल्न पाइँदैन । तपाईँ राजीनामा दिनुस्, निस्कनुस् ।’

उक्त घटनाप्रति सांसद चौधरीले आजको प्रतिनिधिसभा बैठकमा असन्तुष्टि जनाउँदै निन्दा गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित