शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

संसदमा गगन थापाले प्रधानमन्त्री देउवालाई सम्झाए– ‘बालुवाटार टू बारदली’

दैनिक नेपाल २०७८ साउन १२ गते १३:५५

काठमाडौं, १२ साउन । नेपाली काङ्ग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘बालुवाटार टू बारदली’ को यात्रा स्मरण गराएका छन् ।

आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अघिल्लो सरकारले गरेजस्तो काम गर्ने कुनै पनि हालतमा छूट नभएको बताउँदै उक्त दृष्टान्त स्मरण गराएका हुन् ।

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिएर आसेपासेलाई पोस्ने, बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बारदली पुगेको छ अघिल्लो सरकार,’ उनले भने, ‘नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन ।’

बैठकमा थापाले विभिन्न परिस्थितिकाबीच प्रधानमन्त्री शेरबहादुर देउवा परीक्षाको घडीमा रहेको पनि बताएका छन् । उनले प्रधानमन्त्रीसँगै सभामुखको पनि परीक्षाको समय भएको बताएका छन् ।

उनले संसद सरकारसँग डराउने नभई, सरकार संसद र सांसदको प्रश्न र संसदको निगरानीसँग डराउनुपर्ने बताउँदै सो कुरा बताएका हुन् । ‘संविधानको धाराले प्रतिनिधिसभा पुनर्स्थापना भयो, सांसदको अधिकारले सरकार । सभामुख र हाम्रो कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुनर्स्थापित गर्नुपर्ने छ । परीक्षा प्रधानमन्त्रीको मात्र होइन, सभामुखमा पनि छ । संसद जोगाउन लाग्ने सबै सांसदको छ ।’

सांसद थापाले निवर्तमान प्रधानमन्त्रीको आलोचना गर्दै देउवालाई सचेत गराएका हुन् । यद्यपि, देउवा सरकार शुरूवाती चरणबाटै विवादमा तानिन थालिसकेको छ ।

मन्त्रिपरिषदलाई पूर्णता नदिएको तथा नियुक्त मन्त्रीबारे पनि अनेक आलोचना भइरहेकाले देउवा सरकारको यात्रा विवादरहित बन्न नसक्ने आँकलन गर्न थालिसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित