बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

कल्याण गुरुङले राखे फरक मत

दैनिक नेपाल २०७८ साउन १२ गते ११:०२

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज आफ्नो प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि ९८ प्रतिशत काम सकेर आज प्रतिवेदन बुझाउन लागेको हो । २ प्रतिशत विवाद भने थाँती राखिएको छ ।

सहमति बन्न नसकेका नामलाई टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिइने भएको छ । सप्तरी र बाराको पुरै जिल्लामा नयाँ सदस्य र नवीकरणमा विवाद रहेको जनाउँदै समितिले त्यसमा समाधान निकाल्ने जिम्मेवारी शीर्ष तहलाई सुम्पने भएको हो ।

त्यसैले समितिले चार जिल्लाको क्रियाशील सदस्यता विवाद सहितको प्रतिवेदन बुझाउने भएको छ । केही वडा तथा क्षेत्रको विवादमा पनि माथिल्लो तहबाट निर्णय निकाल्ने गरी प्रतिवेदन तयार भएको छ । तर समितिमा भएको विवादको विषयलाई लिएर जिल्ला तहका नेताहरु एक साता भन्दा अघिदेखि केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् ।

महाधिवेशनका बारेमा छलफल गर्न आजै बूढानिलकण्ठमा पदाधिकारी बैठक बस्दै छ । सोही बैठकमा प्रतिवेदन बुझाउने तयारी छ ।

यसैबीच नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् । क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद छ ।

सोही विवादका कारण कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका समेत प्रभावित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित