शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरसको पहिलो सङ्क्रमित म

सागर पोख्रेल २०७८ साउन ११ गते १२:११

२०७६ सालको मंसिर महिनादेखि शुरू भएको कोरोना भाइरसले क्रमशः विश्वभर नै आफ्नो कब्जा जमाउन थाल्यो ।

दिनप्रतिदित विश्वभर कोरोना महामारीको चर्को हल्ला चल्न थालिसकेको थियो । तीव्र रूपमा फैलिदै गएको कोरोनाको भयले तत्कालीन नेपाल सरकारले एसईई दिने विद्यार्थीको परीक्षा समेत स्थगन गरी चैत ६ गतेदेखि निषेधाज्ञा शुरू गर्दै सबै मानिसलाई घरभित्रै बस्न अनुरोध समेत गर्यो ।

सरकारले अनुरोध त गर्यो तर स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, सञ्चारकमी भने आफ्नो कर्तव्यबाट विमुख हुन पाएन्न र तिनका मनले समेत जिम्मेवारीबाट भाग्न पनि चाहेन । नेपालमा दिनप्रतिदिन कोरोनाको कहर बढ्दै थियो । आफूले पाएको जानकारी अनुसार स्वास्थ्य शुरक्षा अपनाउँदै म पनि आफ्नो जीम्मेवारी बहन गर्दै थिएँ ।

आम नागरिकलाई सञ्चारमार्फत सू–सूचित गराउने आफ्नो जीम्मेवारी बहन गर्दै थिएँ । सँगै आफ्नो व्यवसायको आर्थिक काराबवार पनि मिलाउनु थियो । जस्तोसुकै अवस्था आए पनि बैंक तथा वित्तीय संस्थाहरूले असार मसान्त (क्लोजिङ) मा व्याज र किस्ता बुझाउन ताकेता गर्दै थिए ।

लकडाउन जारी थियो । रेडियोमा कार्यरत कर्मचारीहरूले पारिश्रमिकको आश गरिरहेका थिए, तर मुख फोर्न सकेका थिएनन् उनीहरूले । किन भने विद्यमान परिस्थितिलाई उनीहरूले पनि राम्रोसँग बुझेका थिए । यद्यपि, समस्या बुझेर मात्रै के गर्नु स्वयम् उनीहरू र उनीहरूका परिवारको पेटले त्यो समस्या बुझेर मात्रै पनि नहुने थियो ।

सागर पोख्रेल

तत्कालीन सरकारले पहिलोपटक फ्रन्टलाइनमा रहेर काम गर्ने र संक्रमणको शंका लागेकाहरूको आरडीटी परीक्षण गर्ने व्यावस्था मिलायो । पहिलोपटक नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटसहित ११ जनाले मध्यविन्दु जिल्ला अस्पतालमा गएर आरडीटी परीक्षण गरियो । परिणाम हामीले चाहेअनुसार कै ‘नेगेटिभ’ आयो ।

साउन महिनाको १५ गते सरकारले फेरि फ्रन्टलाइनमा काम गरेका सञ्चारकर्मीहरूका लागि पीसीआर परीक्षण गर्ने बतायो । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा पहिलोपटक साउन १७ गते नवलपुरका २५ जना क्रियाशील पत्रकारहरूको पीसीआर परीक्षण गरियो । सबै पत्रकार साथीहरूको रिपोर्र्ट ‘नेगेटिभ’ नै आयो ।

म संस्थापक तथा निर्देशक रहेको रेडियो सामर्थ्यको नवौं वार्षिककोत्सव साउन २६ गते परेको थियो । कोरोना कहरसँगै स्वास्थ्य सेवा केन्द्रहरूमा रगतको अभाव देखियो भनेपछि रेडियो सामर्थ्यको सो वार्षिकोत्सवमा रेडियोका अध्यक्ष भरत शर्मा पोख्रेल र म भएर रक्तदान कार्यक्रम आयोजना गर्ने निधो गर्यौं । र, जिल्ला रेडक्रस कार्यालयसँगको समन्वयमा साउन २६ गते रक्तदान कार्यक्रम आयोजना गरियो ।

यता पालैसँग पत्रकारहरूको पीसीआर परीक्षण पनि भइरहेको नै थियो । साउन २३ गते महासंघ अध्यक्षले दोस्रो लटमा पीसीआर परीक्षण गर्ने लिष्टमा हजुरको पनि नाम राखिएको छ, २६ गते जिल्ला अस्पताल जानुहोला भन्नुभयो । मैले हुन्छ भनेँ । तर, म भने रेडियोको वार्षिकोत्सवमा कसरी धेरै रगत सङ्कलन गर्न सकिन्छ भनेर टेलिफोन र भेटघाटमा व्यस्त थिएँ ।

साउन २५ गते रेडियोका अध्यक्ष भरत शर्मा पोख्रेल र म सँगै रहेर दिनभर रक्तदाताहरूका लागि स्वास्थ्यसुरक्षा सामग्री, खानपान र प्रमाणपत्रको तयारी गरीनै रह्यौं । दुईजना दिनभर सँगै रहियो र पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरियो ।

त्यतिखेर पीसीआर परीक्षण गर्न पोखरा लैजान पर्थ्यो । अहिलेजस्तो मध्यविन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण हुँदैनथ्यो । पीसीआरको रिपोर्ट छिटो आउँदा २ दिनमा नत्र ५–७ दिन पनि लाग्न सक्थ्यो । नलागोस् पनि कसरी, गण्डकी प्रदेशभरीको पीसीआर प्रदेश मुकाममै गर्नुपर्ने बाध्यता थियो ।

साउन २६ गते बिहान ८ बजे रेडियो सामर्थ्यको प्राङ्गणमा रक्तदान कार्यक्रम शुरू भयो । उक्त कार्यक्रममा शुरू भइसकेपछि सायरा मिडिया (सत्यकलम डटकम डिजिटल पत्रिका) का प्रवन्धक एवम् अध्यक्ष मेरा मित्र रमेश बस्ताकोटी र म सँगै मेरो आफ्नै सवारीमा मध्यविन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण गर्न गयौं ।

हामीहरूले पीसीआर परीक्षण गर्ने दिनसम्म नवलपुर जिल्लामा अन्य देशबाट आएका व्यक्तिहरूमा मात्र कोरोना भाइरस (कोभिड–१९) पोटेटिभ देखिएको थियो । समुदायमा कसैलाई पनि देखिएको थिएन । सबै स्थानीय तहले विदेशबाट आएकालाई भिन्न क्वारेन्टाइन बनाएर राख्ने र तिनीहरूको पीसीआर रिपोर्र्ट पोजेटिभ आएपछि देवचुली, रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आइसोलेशनमा पठाउने गरेका थिए ।

साउन २६ गतेसम्म प्रायः सबै आइसोलेशनहरू खाली जस्तै थिए । जिल्लाभरका सङ्क्रमित राख्ने रजहरको प्राकृतिक चिकित्सालयको आइसोलेशनमा समेत ४ जना मात्र बाँकी थिए ।

साउन २६ गते मध्यविन्दु जिल्ला अस्पतालमा करिब २१ जना सञ्चारकर्मीले पीसीआर परीक्षण गरायौं । स्थानीय सरकार, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र नेपाल सरकारले पीसीआर परीक्षण गरेका व्याक्तिहरू रिपोर्र्ट नआउँदासम्म कसैसँग भेटघाट गर्न हुँदैन भनेपछि म पनि रेडियोको वार्षिकउत्सवको रक्तदान कार्यक्रम सम्पन्न गर्न रेडियोका अन्य सहकर्मीहरूलाई जिम्मा लगाएर घरमै बसेँ ।

त्यतिखेर पीसीआर परीक्षण गर्न पोखरा लैजान पर्थ्यो । अहिलेजस्तो मध्यविन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण हुँदैनथ्यो । पीसीआरको रिपोर्ट छिटो आउँदा २ दिनमा नत्र ५–७ दिन पनि लाग्न सक्थ्यो । नलागोस् पनि कसरी, गण्डकी प्रदेशभरीको पीसीआर प्रदेश मुकाममै गर्नुपर्ने बाध्यता थियो ।

साउन २८ गते हाम्रो पीसीआर रिपोर्ट साँझसम्म आउँछ भन्ने खबर आएको थियो । मनमा कतै डर कतै खुल्दुली भइरहेको थियो । किनकी त्यतिखेरसम्म समुदायमा कसैलाई पनि कोरोना पोजेटिभ देखिएको थिएन ।

अन्दाजी दिउँसोको ४ बजेको थियो होला, पत्रकारको फेसबुकमा खासखुस मेसेज गर्नथाल्यो । तर, म संलग्न भएको ग्रुपमा भने केही खबर आउँदैनथ्यो । मनमा चिसो पस्न थाल्यो, म अझ त्रसित बन्न पुगें । त्यतिकैमा जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत मेरी भतिजीको फोन आयो ।

अङ्कल कता हुनुहुन्छ ? बाहिर कतै त जानुभएको छैन नि ?

मैले कहीँ गएको छैन, रिपोर्ट नआउँदासम्म घरबाहिर निस्कन हुँदैन भनेर घरमै छु बरु रिपोर्ट कतिखेर आउँछ भनेर सोधेँ ।

उनलै आउँदै छ अङ्कल, पीसीआर चेक गरेको मान्छे रिपोर्ट नआउँदासम्म घरमै रहन पर्छ भनिन् र ल अङ्कल घरै बस्नु है भन्दै फोनबाट बिदा भइन् ।

उता अन्य पत्रकार साथीहलाई भने रिपोर्टको जानकारी भइसकेको रहेछ । तर, मलाइ भने कसैले भन्ने आँट गरेनन् । साथीहरूको मेसेन्जरमा गफ भईरहने तर, मसँग नहुनु र विरलै आउने भतिजीको फोन आएपछि मैले दाउन्ने साप्ताहिकका प्रकाशक रामकुमार श्रेष्ठलाई मन चोर्न पर्यो भनेर फोन गरेँ र भने मेरो रिपोर्ट पोजेटिभ आएको रैछ है भनें ।

उसले त्यसै भन्छन् सबैको नेगेटिभ तिम्रो पोजेटिभ भन्ने आयो मलाई अनुसन्धनमा काम गर्ने साथीले भनेको । तर, फाइनल हैन रे ! भन्दैछन् भने ।

फेरि उनले थपे आफू त कावासोती–२ मा पो हो नि बस्ने त, त्यसो भए तिम्रो होइन भने । मैले पीसीआर परीक्षणमा मेरो स्थायी ठेगाना कावासोती–१७ नै लेखेको छु । उसले त्यसो भए त तिम्रो रिपोर्ट पोजेटिभ आएछ ।

छाँगाबाट खसे झैं भएँ, दिउँसोको ४ बजे मेरा आँखाले पुरै अँध्यारो देख्यो चक्कर लागेजस्तो भयो । तर, मैले आफूलाइ सम्हालेँ । किनकी म सँगै मेरो परिवार (श्रीमती रिङ्कु देवी पोख्रेल, छोरी गरिमा र छोरा गौरव) सँगै थिए ।

मैले मेरो घर परिवारलाई विस्तारै सम्झाउन थालेँ र भने, दम, निमोनिया, ज्वरो, रुघा लागेकालाई मात्र हैन मेरो जस्ता तन्दरुस्त शरीरमा पनि कोरोना पोजेटिभ देखिन्छ रे नि त ! विस्तारै केही कुरा उनीहरूलाई सम्झाउँदै गएपछि मैले आफू कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित भएको बताएँ ।

तर, मेरी छोरी त्यो कुरा मान्न तयारै भइनन् । झन् मेरो घाँटीलाई अङ्गालोले बाँधेर मजाक नगर्नु न बाबा पो भन्न थालिन् ।

मैले उनलाई सम्झाउँदै मेरो कपडा तयार पारिदिनु भनें । किनकी कोरोना सङ्क्रमित बस्ने जिल्लाको आइसोलेशन प्राकृतिक चिकित्सालय थियो ।

मैले आफू सङ्क्रमित भएको खबर रेडियोका अध्यक्ष, दाजु भरत शर्मा पोख्रेललाई जानकारी गराएँ । उहाँले हिम्मत नहार्न आग्रह गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्न भन्नुभयो ।

अनि मलाई पनि उक्त कुरा राम्रो लाग्यो र कोरोना सङ्क्रमित भएर सामाजिक सञ्जालमा पोष्ट गर्ने र नवलपुर जिल्लामा समुदाय स्तरको पहिलो कोरोना सङ्क्रमित भएँ ।

पोखरेल सामर्थ्य साप्ताहिकका प्रकाशक एवम् रेडियो सामर्थ्यका प्रवन्धक/संस्थापक हुन्

प्रतिक्रिया
सम्बन्धित