शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

जुडोकी सोनिया, सुटिङकी कल्पना ओलम्पिकमा पराजित

दैनिक नेपाल २०७८ साउन ९ गते ८:१८

काठमाडौं, ९ साउन । टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोकी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो खेलमा रसिया ओलम्पिक कमिटिकी इरिना डोल्गोभासँग पराजित भएकी छिन् ।

राउन्ड अफ ३२ को प्रतिस्पर्धामा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन् । इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरेकी हुन् । अब इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत पुनः प्रतिस्पर्धा गर्न पाउनेछिन् । दोस्रो चरणको खेल आज नै हुनेछ ।

त्यसअघि शनिबार नै सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।

यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।

छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । छनोटमा नर्वेकी हेग दुस्तादले ६ सय ३२.९ स्कोरसहित शीर्ष स्थान हासिल गरिन् । उनीसँगै दक्षिण कोरियाकी पार्क हिमुन (६३१.७), अमेरिकी मेरी टकर (६३१.४), दक्षिण कोरियाकै यूंजी क्वोन (६३०.९), फ्रान्सेली ओसिएन मुलर (६३०.७), चीनकि किआन याङ (६२८.७), स्विस निना क्रिस्तिएन र आरओसीकी अनास्तासिया गलाशिना (६२८.५) ले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल आज नै हुनेछ ।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् । चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी उनके अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् । अन्तिम सिरिजको पाँचौ प्रहारमा ८.८ स्कोर हुँदा समग्रमा जम्मा १००.७ स्कोर जोडिन् । समग्रमा ६ सय १६.८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भइन् ।

इभेन्टमा ५० जनाको सहभागिता थियो । कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र सरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् । भारतले पदक आशा गरेकी इलाभेनिल भालरभियन ६२६.५ स्कोरसहित १६ औं स्थानमा रहिन् । भारतकै अपुर्भी चन्डेला ६२१.९ स्कोरसहित ३६ औं स्थानमा रहिन् । भुटानकि लेन्चु कुन्जाङ ६१८.१ स्कोरसहित ४३ औं स्थानमा रहिन् ।

कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् । त्यसपछि सन् २०१९ मा नेपालमै भएको सागमा उनले प्रदर्शन सुधार गरेकी थिइन् । सागमा उनी चौथो भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित