८ कार्तिक २०८३, आइतबार

राप्रपाले गरेको वैचारिक सहयोगको विप्लवद्वारा प्रशंसा, सरकारसँगको सहमति कार्यान्वयनमा जोड

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । भूमिगत राजनितिबाट खुला राजनितिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) पछिल्लो समय राजनितिक भेटघाटमा व्यस्त भइरहेका छन् ।

विशेष गरी निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन सँगै विप्लवले अन्य राजनितक दलका नेताहरुसँग भेट्ने क्रम तिव्र बनाएका हुन् । सोही क्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहानै पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ९प्रकाण्ड०सहित थापा निवास बुढानिलकण्ठ पुगेका विप्लवले राप्रपाका अन्य नेताहरुसहित अध्यक्ष थापासँग भेट वार्ता गरेका हुन् । भेटमा उनले आफ्नो भूमिगतकालमा राप्रपाले गरेको वैचारिक सहयोगको खुलेर प्रशंसा गरेका छन् ।

भूमितगत कालमा राज्यले दमन गरेको बेला विप्लवदेखि राजासम्म अटाउनु पर्छ भनेर सार्वजानिक अपिल गरिदिएकोमा उनले थापालाई धन्यवाद दिएका हुन् । ‘हाम्रो लागि पनि बोलिदिएर हामीलाई ठूलो भरोसा दिनु भयो ।
उनले देश कठिन अवस्थामा पुगेको र वैदेशिक हस्तक्षेप अत्यन्त तीव्र भइरहेकाले यस्तोमा सबै दलहरु मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नुपर्छ,’ विप्लवले थापासँगको भेटमा भने ।

विप्लवले तत्कालीन प्रम केपी शर्मा ओलीसँगको तीन बुँदे सहमतिपछि खुल्ला राजनितिमा आए पनि अझै सहमति कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे । आफ्ना १२५ भन्दा धेरै कार्यकर्ता अझै जेलमा रहेको भन्दै ओलीको बर्हिगमन भए पनि सम्झौता व्यक्तिसँग नभई राज्यसँग भएकाले अहिलेको सरकारले पनि सहमति कार्यान्वयन गरोस् भन्नेमा लागि परेकोे बताए । यसमा राप्रपाको सहयोगको समेत अपेक्षा गरेका उनको भनाइ छ ।

जवाफमा राप्रपा अध्यक्ष थापाले सरकारले विप्लवसँगको सहमित कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको बताए । थापाले भने, ‘तपाईहरुसँग भेट्ने इच्छा थियो, आज भेट भयो, तपाइँहरुले उठाएको सवालमा राप्रपाको साथ र समर्थन छ । देशले निकास पाउनका लागि परिवर्तनकारी शक्ति र परम्परावादी शक्ति मिल्नु जरुरी छ ।’

जनमत संग्रहको कुराले होस् वा अन्य कुनै राष्ट्रिय सहमतिले विप्लवदेखि राजासम्म अटाउने राजनितिक प्रणालीको विकास हुनपर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरे । ‘बाह्य हस्तक्षेप तीव्र छ, र राष्ट्रियता, स्वधीनता रक्षा गदैै आफ्नो निर्णय आफै गर्न सक्ने प्रणालीको विकास हुनु जरुरी छ,’ थापाले भने ।

भेटमा प्रवक्ता प्रकाण्डले दश वर्षे जनयुद्धपछि जनताको शासन चाहे पनि अहिले पनि पूँजीपति र दलालहरुकै सत्तामा हालीमुहाली रहेको छ, जनताहरु अझै पीडित छन्, जनताको शासन स्थापना गर्न सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

पछिल्लो समय विप्लव सक्रिय हुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।