शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टोकियो ओलम्पिकमा फ्रान्सलाई धक्का

दैनिक नेपाल २०७८ साउन ८ गते ७:३९

टोकियो, ८ साउन । फ्रान्सलाई ओलम्पिक स्वर्ण पदकको दाबीमा नराम्रो झट्का लागेको छ ।

फ्रान्स बिहीबार टोकियो ओलम्पिकमा मेक्सिकोसँग ४–१ ले पराजित भएको छ । रिचार्लिसनको ह्याट्रिकमा साबिक विजेता ब्राजिलले रोमाञ्चक खेलमा जर्मनीमाथि ४–२ को जित हात पारेको छ ।

सन् १९८४ यता पहिलो ओलम्पिक स्वर्ण जित्ने आशामा रहेको फ्रान्सले टोकियो रंगशालामा दोस्रो हाफमा खराब खेल्न पुगेको थियो ।

एलेक्सिस भागाको गोलमा मेक्सिकोले दोस्रो मिनेटमै अग्रता लियो । यो अग्रता सेवास्टियन कार्डोभाले ५५ औं मिनेटमा दोब्बर बनाए ।

एन्ड्रे पिइरे गिग्नाकले अन्तिम पटक फ्रान्सेली राष्ट्रिय टोलीबाट युरो २०१६ मा पोर्चुगलविरुद्धको फाइनल खेलेका थिए । ३५ वर्षे उनकै कप्तानीमा अहिले फ्रान्सले ओलम्पिक खेलिरहेको छ । गिग्नाकले पेनाल्टीबाट २१ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

मेक्सिकोका उरिइल एन्टुना र इडुवार्डो अगुइरेले गोल गरेपछि फ्रान्सको पुनरागमन गर्ने सम्भावना सकिएको थियो । सन् २०१२ को ओलम्पिक विजेता मेक्सिकोले समूह ‘ए’ मा सानदार नतिजा निकाल्दै बलियो दाबेदारी तेर्स्याएको छ । यो समूहको अन्य दुई टोलीमा दक्षिण अफ्रिका र जापान छन् । आयोजक जापानले कोभिड–१९ को संक्रमणको मारमा रहेको दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्‍यो ।

पाँच वर्षअघि ओलम्पिकमा पहिलोपल्ट स्वर्ण जितेको ब्राजिलबाट रिचार्लिसनले पहिलो हाफमै तीन गोल गरेका थिए । एभरटनका स्ट्राइकर उनलाई ह्याट्रिक गोल पूरा गर्न आधा घन्टा पनि लागेन । म्याथिएस कुन्हाले पेनाल्टी गुमाउँदा ब्राजिल चौथो गोल गर्न चुकेको थियो ।

जर्मनीले दुई गोल गर्दै अप्रत्याशित रूपमा खेलमा पुनरागमनको प्रयास गरेको थियो । बायर लेभरकुसनका नदिम अमिरीले ५७ औं मिनेटमा गोल गरे ।

म्याक्सिमिलियन आर्नोल्डले त्यसको चार मिनेटपछि रातो कार्ड पाउँदा जर्मनी १० खेलाडीमा झरेको थियो । राग्नर एचेले ८४ औं मिनेटमा जर्मनीबाट दोस्रो गोल गरे । पाउलिन्होले इन्ज्युरी टाइममा गोल गर्दै ब्राजिलको जित निश्चित गरे ।

समूह ‘डी’ को अर्को खेलमा आइभोरी कोस्टले एसी मिलानका फ्रान्क केसीको गोल मदतमा साउदी अरेबियामाथि २–१ को विजय नतिजा निकालेको छ । युरो २०२० खेलेको टोलीका ६ खेलाडी उतारेको स्पेन खेल पूर्ण रूपमा आफ्नो अधिनमा लिन सफल भए पनि इजिप्टसँग गोलरहित बराबरीमा रोकिएको छ ।

पछिल्लो दुई सिजन आर्सनलबाट लोनमा खेलेका रियल म्याड्रिडका डानी सेबेलोसले पहिलो हाफमा गरेको प्रहार पोस्टमा लाग्नु स्पेनका लागि दुर्भाग्य बन्यो । १९९२ मा आफैंले आयोजना गर्दा स्वर्ण पदक जितेको स्पेनले तीन दिनपछि समूह ‘सी’ को अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्नेछ । अस्ट्रेलियाले लक्लेन वेल्स र मार्को टिलोको गोलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्‍यो ।

न्युजिल्यान्डले समूह ‘बी’ मा दक्षिण कोरियालाई १–० ले हराएको छ । बर्नलीका स्ट्राइकर क्रिस उडले कासिमामा ७२ औं मिनेटमा गोल गरेका थिए । उनी न्युजिल्यान्ड टोलीमा रहेका २३ वर्षभन्दा माथिका तीनमध्ये एक खेलाडी हुन् । न्युजिल्यान्डको ओलम्पिक फुटबलमा यो पहिलो जित हो । २००८ र २०१२ को ओलम्पिकमा टोलीले १–१ खेलमा यसअघि बराबरीको नतिजा निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित