
काठमाडौं, ७ साउन । तास खेलिरहेको अवस्थामा काठमाडौंको दुई स्थानबाट ६ जना महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई वटा तासखो खालबाट प्रहरीले ६ लाख ८७ हजार १९० रुपैयाँ नगद पनि बरामद गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानरगपालिका–११ भोटेबहाल बस्ने ५० वर्षीय दिनेश कुमार शेरचनको घरमा तास खेलिरहेको अवस्थामा दिनेश कुमारलगायत ६ जना पुरुष र ६ जना महिला गरी १२ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९१ हजार ४०० रुपैयाँ, २१ सेट तास, ४५ वटा क्वाईन र ३ लाख ७० हजार रुपैयाँको बिभिन्न बैंकका ५ वटा चेक पनि बरामद गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ नयाँबजार नयाँपुल चोकस्थित महमद नुर हुसेनको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने भारत घर भएका २४ वर्षीय महमद सुलेमान लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २५ हजार ७९० रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।















प्रतिक्रिया