शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

निरंकुश र निर्दलीय शासनसत्ताको विरोधी थिए पुष्पलाल : महासचिव पोखरेल

दैनिक नेपाल २०७८ साउन ७ गते १२:४२

फाइल तस्वीर

काठमाडौं, ७ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठ निरंकुश र निर्दलीय शासनसत्ताको घोर विरोधी भएको स्मरण गरेका छन् ।

श्रेष्ठको ४३औं स्मृति दिवसका अवसरमा आज उनीप्रति श्रद्धासुमन अर्पण गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । पुष्पलालले नेपालमा परिवर्तन र देशभक्तिको भावना भएका स्वप्नदर्शी युवाहरूलाई लिएर कम्युनिष्ट पार्टीको स्थापना गरेको स्मरण गर्दै महासचिव पोखरेलले आज बिहीबार सामाजिक सञ्जालमार्फत श्रेष्ठप्रति श्रद्धासुमन अर्पण गरेका हुन् ।

नेपालको प्रजातान्त्रिकआन्दोलन तथा कम्युनिष्ट आन्दोलनमा पुष्पलालका योगदानहरू बाँचिरहने विश्वास पोखरेलले व्यक्त गरेका छन् ।

उनले लेखेका छन्–

संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठ

कमरेड पुष्पलाल–
जसले नेपालमा परिवर्तन र देशभक्तिको भावना भएका स्वप्नदर्शी युवाहरूलाई लिएर कम्युनिष्ट पार्टी स्थापना गर्यो !
जसले निरंकुश जहानिया राणा शासन र राजाको निरंकुश र निर्दलीय शासन सत्ताको विरोधमा आफूलाई अविचलित रूपमा उभ्याइरह्यो !
जसले नेपाली समाजको सामाजिक( सांस्कृतिक विशेषता अनुसार मौलिक परिवर्तनकारी राजनीतिक चेतना विकास गर्नुपर्ने कुरामा जोड दिइरह्यो !
जसले साझा शत्रुका विरूद्ध संभव अनुकूल सबै शक्तिहरूलाई गोलवन्द गर्दै संयुक्त जनआन्दोलनमा जोड दिइरह्यो !
र,
जसले सबै कुरा त्याग्यो र स्वाभिमानको मृत्यु रोज्यो !!
४३औं स्मृति दिवसको औसरमा हार्दिक श्रद्धासुमन !
नेपालको प्रजातान्त्रिकआन्दोलन तथा कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलालका योगदानहरू बाँचिरहनेछन् !!

पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको आज ४३औं स्मृति दिवस हो । यसको अवसर पारेर आज देश र विदेशमा कम्युनिस्टजनहरुले उनको सम्झनामा विभिन्न किसिमका कार्यकार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

पुष्पलालले अघि सारेको बीचारको नेतृत्व अहिले नेकपा एमालेले गर्दै आएको छ । तर, सो पार्टी पछिल्लो समय टुटफुटको संघारमा पुगेको छ । श्रेष्ठको स्मृति दिवस पारेर विभिन्न नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी एकता भए मात्रै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित