शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चीनमा बाढीले भूमिगत रेल स्टेशन डुबाएपछि कैयौँमा त्रास

दैनिक नेपाल २०७८ साउन ७ गते ११:१८

बेइजिङ, ७ साउन । मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएसँगै कैयौँ हतास यात्रुहरूले भाग्ने प्रयास गरेका थिए । अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढा पुर्‍याइदियो ।

रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो । आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाइ माथि धकेलिरहेका थिए भने कम उचाइका व्यक्तिहरूलाई अन्यले बोकिरहेका थिए ।

सामाजिक सञ्जालमा देखिएका केही भिडिओहरूमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ । बाहिर झन् धेरै पानी रहेको थाहा नहुँदासम्म एक जना यात्रुले झ्याल फुटाउने प्रयास गरिरहेका थिए ।

केहीले बित्यास लाग्दो स्थितिको भिडिओ खिँचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए ।

‘म अब थप बोल्न सक्दिन’, एक जना महिलाले सामाजिक सञ्जाल वेबोमा लेखिन् । कैयौँ घण्टाको त्रास र अनिश्चितता पछि उद्धार कार्यमा खटिएको टोली रेलको छतबाट भित्र प्रवेश गर्न सफल भयो र मानिसहरूलाई बाहिर निकाल्न थाल्यो ।

‘हामीले छतमा रहेको सिसा अलिकति फुटायौँ । त्यसपछि अचानक त्यहाँ हावा आयो’, नाम नखुलाइएकी एक महिलाले सराकारी प्रसारक सीसीटीभीलाई भनिन् ।

जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भए । खनान प्रान्तस्थित एल्लो रिभरको किनारमा रहेको उक्त सहरमा १ करोड २० लाख मानिसहरू बसोबास गर्छन् ।

पछिल्लो घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ । बढीका कैयौँ कारणहरू हुन सक्छन् । जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ ।

झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो । जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित