शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

विदेशी सेनालाई अफगानिस्तान छाड्न तालिबानको चेतावनी

दैनिक नेपाल २०७८ असार २१ गते ९:१५

कराची, २१ असार । अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नु पर्ने तालिबानले जनाएको छ ।

कूटनीतिक नियोग र काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ अमेरिकी फौजसहित एक हजार विदेशी सेना अफगानिस्तानमा बस्न सक्ने खबर सार्वजनिक भइरहेका बेला तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

आफूहरू विदेशी सैन्य फौजको विरुद्धमा रहेको तालिबानले जनाएको छ । तालिबानसँग भएको सम्झौता अनुसार अमेरिका र उसका सैन्य गठबन्धनले आफ्ना सबै फौज फिर्ता लैजान सहमत भएका थिए ।

केहि दिनअघि अफगानिस्तानको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका सैनिकहरू बाहिरिएका छन् । योसँगै अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएको छ ।

अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले आउँदो सेप्टेम्बर महिनासम्म समयसीमा तोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने बताउँदै आएका छन् ।

तालिबानले थप क्षेत्रमा पकड बढाउँदै लगेको छ । हिंसाका घटनामा कमी आएको छैन । तर तालिबानका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य कब्जा गर्नु आफूहरूको नीति नरहेको समेत बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित