
काठमाडौं, २० असार । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी काठमाडौं, दाङ र स्याङ्जामा चार जनाको मृत्यु भएको छ ।
काठमाडौंको टोखा नगरपालिका–९ दिपज्योतीस्थित सडकमा बा. २ क ३४६६ नम्बरको टिपरले प्रदेश–०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक टोखा नगरपालिका–९ बानियाँटार डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–६ घर भएका २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दिपेश थापा छन् ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले बताएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै दाङको शान्तिनगर गाउँपालिका–७ खैरेनीस्थित सडकमा रा. १ त १९३१ नम्बरको ट्याक्टर पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २८ वर्षीय सिताराम चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै स्याङजाको चापाकोट नगरपालिका–१ गैरीथरस्थित सडकमा लु. २० प ३९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय राजु गैरेको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया