लण्डन, १९ असार । स्पेन १६औं संस्करणको युरोकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति रसियामा भएको पहिलो क्वार्टरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा स्पेनले बाजी मारेको हो । ।
पेनाल्टीमा स्पेनका डानी ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । पहिलो पेनाल्टी हानेका स्पेनका कप्तान सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यस्तै, रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।
स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन स्चर, म्यानुएल अकान्जीको प्रहार स्पेनिस गोलकिपर युनाई सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो । सिमोन खेलको म्यान अफ दि म्याच बने ।
पेनाल्टीमा जानुअघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । जोर्डी अल्बाले गरेको प्रहार डिफ्लेक्ट भएर स्विट्जरल्याण्डका डेनिस जाकारियाको खुट्टाबाट आत्मघाती गोल हुन पुगेको थियो ।
खेलको ६८औं मिनेटमा कार्यबाहक कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।
खेलको ७७ औं मिनेटमा स्विट्जरल्याण्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
यसअघि सोमबार राति भएको प्रि–क्वार्टरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको थियो ।
यसैबीच, बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
जर्मनीमा भएको खेलमा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए पनि आफ्नो टोलीको जितका लागि पर्याप्त भएन ।
खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–० को स्थितिमा पुर्याए ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २–१ ले आफ्नो बनायो । यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमानसमेत बनाएको छ ।
इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यसअघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । अब इटालीले फाइनल प्रवेशका लागि सेमीफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया