काठमाडौं, १४ असार । एमालेका युवा नेता विदुरप्रसाद घिमिरेले पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीद्वारा गरिएको प्रयासलाई कमजोरीका रुपमा नलिन अनुरोध गरेका छन् ।
नेता घिमिरेले सामाजिक सञ्जालमार्फत एमालेलाई बचाउने जिम्मेवारी र दायित्व शीर्ष नेताहरूको रहेको भन्दै कार्यकर्ताको भावनामाथि खेलवाड नगर्न विद्रोही समूहलाई चेतावनी दिएका छन् ।
‘पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीज्यूले पार्टी मिलाउनका लागि गर्नुभएको प्रयासलाई कसैले पनि कमजोरीका रुपमा लिनु हुँदैन’, उनले भने, ‘असन्तुष्ट समूहले आफूलाई सच्याएर पार्टी एकताका लागि तयार गर्नुपर्छ ।’
युवा नेता घिमिरेले पार्टीभित्र बस्ने मन छैन भने नेतृत्वलाई अनावश्यक लाञ्छनाहरू लगाउने कार्य तत्काल बन्द गर्न वरिष्ठ नेता माधव नेपाल समूहलाई चेतावनी दिएका छन् ।
‘एमाले मिलाउने दायित्व तपाईको पनि हो’, घिमिरेले भने, ‘तपाईहरूका कारण एमाले पार्टीलाई कमजोर बनाउन पाइँदैन । तपाईहरूले नै निर्माण गरेको एमालेलाई बचाउने दायित्व तपाई र हामी सबैको हो । अध्यक्ष ओलीज्यूको प्रस्तावमा सहमति जनाउनुस् ।’
एमालेलाई मिलाउनका लागि पछिल्लो पटक भइरहेका प्रयासहरू सकारात्मक रहेको भन्दै गाउँगाउँबाट कार्यकर्ताहरूले विवाद समाधान गर्न दवाव सिर्जना गर्नुपर्ने आवश्यक्ता आएको नेता घिमिरेले बताएका छन् ।











प्रतिक्रिया