
जाजरकोट, १४ असार । जाजरकोट जिल्लाको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष एवम् एमालेका नेता वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ ।
अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताएका छन् । स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो आफूले गरेको तर सब–इन्जिनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको खत्रीले बताए ।
वडाध्यक्ष खत्रीले वडाभन्दा बाहिरको काम गरेको तर, वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीको आरोप छ । शाहीको मुखमा समेत चोट लागेको बताइएको छ ।
‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ । केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नुभयो । मुक्का प्रहार गर्नुभयो । लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो’, शाहीले भने, ‘त्यसपछि भागेर ज्यान जोगाएँ ।’ खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
सब–इन्जिनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भर्त्सना गरेका छन् । घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन् ।
ुराष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारबाही तथा सेवाबाट बर्खास्त गर्ने कानुनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ । सो कार्यप्रति हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ,ु विज्ञप्तिमा भनिएको छ ।











प्रतिक्रिया