बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनामा खर्च भएको विवरणको श्वेतपत्र जारी गर्न कांग्रेसको माग

दैनिक नेपाल २०७८ असार ९ गते ९:४२

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले कोरोना रोकथाम, उपचार र नियन्त्रणमा खर्च भएको अर्बौं रकमको हिसाब किताब माग गरेका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग भेट गरेर डा.महतले कोरोना महामारीका बेला खर्च भएको सरकारी रकमको पारदर्शिताको माग गरेका हुन् । उनले कोरोनामा खर्च भएको राज्यको पैसाका विषयमा जनतालाई श्वेतपत्र जारी गरेर जानकारी दिनुपर्ने बताए ।

‘कोरोना रोकथाम, नियन्त्रण र उपचारका नाममा अर्बौं रकम लगानी भएको छ । श्वेत पत्र सार्वजनिक गर्नुपर्छ । कोरोनाका लागि खर्च भएको रकमको हिसाब किताब सार्वजनिक गर्नुपर्छ’, डा.महतले भनेका छन् ।

कांग्रेसका सह–महामन्त्री डा.महतले कोरोनाबाट जनताको जीवन बचाउन कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याएर लगाइदिनुपर्ने माग गरे । उनले खोप खरिदमा गर्नुपर्ने सहयोग गर्न कांग्रेस तयार रहेको बताएका छन् ।

‘कोरोना पूर्ण रुपमा रोक्न खोपभन्दा दोस्रो उपाय छैन’, उनले भने, ‘खोपबारेमा धेरै झुठा कुराहरू प्रचारमा आएको छ । जनताले खोप पाएका छैनन् । पहिलो खोप लगाएकाले पनि दोस्रो खोप लगाउन पाएका छैनन् ।’

कांग्रेस सह–महामन्त्री डा.महतले भने, ‘खोप कहाँबाट आउन लागेको छ भन्नुपर्छ । खोप खरिदमा छिटो काम गर्नुपर्छ । हाम्रो के सहयोग चाहिन्छ सरकारले भनोस् । कांग्रेस सबै सहयोग गर्न तयार छ ।’

कांग्रेस नेता डा.महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्राविधिकतर्फ स्वास्थ्य सचिवको पद रिक्त रहेको भन्दै प्राविधिक सचिव नियुक्त गर्न माग गरेका छन् ।

‘कोरोना महामारीको ठूलो भयाबह छ । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयमा प्राविधिकतर्फको सचिव खाली छ’, उनले भने, ‘प्राविधिक सचिव खाली राख्नुको कारण के हो ? तत्काल राख्नुपर्छ ।’

‘खोप कहिले आउँछ ? सरकारले स्पष्ट भन्न सकेको छैन । विदेशबाट स्वास्थ्य सहयोग आएको छ । सत्तारुढ दलका कार्यकर्ताले व्यापक दुरुपयोग गरेका छन्’, सह–महामन्त्री डा.महतले भने, ‘स्वास्थ्य सामग्रीमा भएको दुरुपयोग तत्काल रोकिनुपर्छ । गफले जनताको जीवन बचाउन सकिँदैन । काम गर्नुपर्छ ।’

कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आलटाल गरिरहेका बेला कांग्रेसका सह–महामन्त्री डा.महतले स्वास्थ्य मन्त्रीलाई भेटेर खोप ल्याउन दवाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित