शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पीसीआर परीक्षणमा पैसा असुल्ने चार स्वास्थ्यकर्मी बर्खास्त

दैनिक नेपाल २०७८ असार ९ गते ७:५०

तनहुँ, ९ असार । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र शुक्लागण्डकी, तनहुँका ४ जना स्वास्थ्य कर्मचारीलाई बर्खास्त गरिएको छ ।

निःशुल्क रुपमा पीसीआर परीक्षण हुने भएपनि ती कर्मचारीहरूले कोरोना परीक्षणको नितजा छिटो दिने भन्दै सेवाग्राहीसँग पैसा लिने गरेको खुलेपछि करार सम्झौता रद्द गरी उनीहरूलाई बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारी अस्पतालबाट पीसिआर रिपोर्ट आउन ढिलाई हुने र निजीबाट छिटो रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणबाट रकम उठाउने फार्मेसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्सिना र सुरक्षा गार्ड मदन श्रेष्ठलाई अस्पताल प्रशासनले स्पष्टिकरण सोध्दै गत जेठ १७ गते निलम्बन गरेको थियो ।

निलम्बित कर्मचारीहरुलाई पहिलो पटक २ दिन र दोस्रो पटक २४ घण्टाको समय दिई स्पष्टिकरण सोधिएकोमा उनीहरुले चितबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुलाई असार ७ गतेको निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतको सुविधा नपाउने गरी केन्द्रसँग भएको करार सम्झौता रद्द गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित