शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नयाँ भेरिएन्ट कति खतरनाक ?

दैनिक नेपाल २०७८ असार ८ गते ७:३२

काठमाडौं, ८ असार । नेपालमा कोभिड–१९ को नयाँ भेरिएन्ट देखिएको छ । यो पछिल्लो डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप भएकाले पहिलेको भेरिएन्टसँग धेरै नजिक छ । यसलाई ‘ए वाई १’ वा डेल्टा प्लस भेरिएन्टको नाम दिइएको छ ।

यो भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत पाइएको छ ।यसको म्युटेसनको नाम ‘के४१७ एन’ हो । यसमा कोरोना भाइरसको पुरानो भेरिएन्टमा अलि परिवर्तन भएको छ । डेल्टा भेरिएन्ट नै विकसित भएर डेल्टा प्लस भेरिएन्ट बनेको हो । यो भेरिएन्टको भाइरस पहिलोभन्दा खतरनाक छ/छैनबारे अध्ययन सुरु भएको छ । ‘परीक्षणका लागि पठाएका ९ वटा नमुनामा थप उत्परिवर्तित ‘के४१७ एन’ म्युटेसन भेटिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘डेल्टा प्लसको नामले समेत जानिने यो नयाँ भेरिएन्टको म्युटेसन नेपाल, भारतसहित विश्वको १० भन्दा बढी मुलुकमा पुष्टि भइसकेको छ ।’

हाल जारी कोभिडको दोस्रो लहरमा धेरैजसो व्यक्ति डेल्टा (बी.१.६१७.२) भेरिएन्टबाट संक्रमित भएका थिए । वैशाख २६ देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनामध्ये ४८ वटा नमुना जाँचका लागि संकलन गरिएको थियो । ती नमुनालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालय र दक्षिण एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्लीस्थित द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।

उक्त नमुनाको जिनोमिक सिक्वेन्सिङ (जिनोमिक पहिचान) गर्दा ४७ वटा नमुनामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको छ । ४७ वटा डेल्टा भेरिएन्ट पुष्टि भएको नमुनामध्ये ९ वटामा थप उत्परिवर्तित ‘के४१७ एन’ म्युटेसन भेटिएको हो ।

‘भाइरसको रूप परिवर्तन प्राकृतिक प्रक्रिया हो तर हामीले भाइरसको स्वरूपमा देखिएका परिवर्तनहरूका बारेमा डब्लूएचओको सहयोग र समन्वयमा नियमित रूपमा निगरानी गरिरहेका छौं,’ सहप्रवक्ता डा. अधिकारीले भने । कुनै पनि नयाँ भेरिएन्टसँग जुध्ने एउटा महत्त्वपूर्ण उपाय स्वास्थ्य सावधानी अपनाउनु रहेको औंल्याउँदै उनले भने, ‘मूल कारण संक्रमणको चेन हो । यसैले हामी मूल कारणलाई बुझ्ने र संक्रमणको चेन तोड्न सफल हुन्छौं भने हामी नियन्त्रण गर्न सक्षम हुन्छौं, चाहे त्यो कुनै पनि भेरिएन्ट होस् ।’

हालसम्म डेल्टा प्लस भेरिएन्ट कति खतरनाक हो/होइन भन्नेबारे विस्तृत अध्ययन चलिरहेको स्वास्थ्य अधिकारीले जनाएका छन् । नयाँदिल्लीस्थित द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) का वैज्ञानिक विनोद स्कारियाले जुन १३ मा ट्वीट गर्दै कोभिड भाइरसको स्पाइक प्रोटिनमा म्युटेसनले गर्दा डेल्टा प्लस भेरिएन्ट देखिएको जानकारी दिएका थिए । उनका अनुसार यो भेरिएन्टले मोनोक्लोनल एन्टिबडीको प्रतिरोध गर्न सक्छ ।

आईजीआईबीकै वैज्ञानिक बानी जौली जुन १४ तारिखमा ट्वीटमार्फत की ‘डेल्टा’ को केही अनुक्रममा ‘के४१७ एन’ म्युटेसन देखिएको जनाएकी थिइन् । हालसम्म करिब १० मुलुकमा भाइरसमा यस प्रकारको परिवर्तनको जानकारी पाइएको छ । अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित