बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

यस कारण मन्त्रीद्वय महासेठ र चौधरीलाई दश वर्ष जेल हुन सक्छ

दैनिक नेपाल २०७८ असार ६ गते १७:१२

जनकपुरधाम, ६ असार । दोस्रो लहरको कोरोना महामारीका कारण पूरै मुलुक निषेधाज्ञाका कारण जनता घरभित्र छन् ।

तर, महिला, बालकालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी भनेर आफ्नै सरकारले बनाएको मापदण्डलाई लात हानेर भिडभडाका गर्दै हिँडेकी छिन् । महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)की नेतृ समेत रहेकी मन्त्री चौधरीका बारेमा सामाजिक सञ्जालमा आलोचना भएका छन् ।

मन्त्री बनेपछि दलबलसहित तराईका जिल्ला झरेकी चौधरीले स्वास्थ्य मापदण्डलाई उल्लंघन गरेकी हुन् । उनका कारण कोरोना फैलिएर जनताको ज्यान गयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?

आफूले कोरोनाविरुद्धको दुबै खोप लगाएकी मन्त्री चौधरी सुरक्षित छिन् । तर, उनले अरुलाई जे भए पनि के मतलव ? मन्त्री चौधरीको यो हर्कतलाई धेरैलाई मन परेको छैन ।

आफ्ना समर्थकसँग फोटो खिचाउने क्रममा उनले मास्कको प्रयोग गरेकी छैनिन् । कमसेकम मास्कको प्रयोग गर्नुपर्ने थियो ।

शनिबार जनकपुरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा चौधरीलाई समर्थकहरूले बोक्न नसक्ने माला लगाइदिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला–ठूला गफ दिइन् । तर, जनतालाई कोरोनाविरुद्धको खोपको विषयमा एक शब्द नबोलेको आरोप स्थानीयको छ ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताले मन्त्री चौधरीलाई ५१ किलोको फूलको माला लगाएर सम्मान गरेका थिए ।

उद्योग वाणिज्य संघ जनकपुरका प्रतिनिधिले मन्त्री चौधरीलाई जानकी मन्दिर माया चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मन्त्री चौधरीलाई महोत्तरीको मटिहानी पनि पुगेकी थिइन् । मटिहानीमा पनि उनले उस्तै खालको भिड गरेर कोरोना फैलाउन खोजेको भनेर आलोचकहरूले आलोचना गरेका छन् ।

कोरोना फैलाको पुष्टि भएमा मन्त्री चौधरीलाई कारबाही हुनेछ । तर, आफैले बनाएको स्वास्थ्य मापदण्ड र कानून उल्लंघन गरेपनि मन्त्री चौधरीलाई कारबाही गर्ने कसको हिम्मत ?
मटिहानी नगरपालिकाले पनि स्वास्थ्य मापदण्ड विपरितको कार्यक्रम गरेर मन्त्री चौधरीलाई स्वागत र सम्मान गरेको थियो ।

कोरोना महामारीका बेला आफैले बनाएको स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोप लागेका विषयमा मन्त्री चौधरीसँग प्रतिक्रिया लिन आइतबार १६ः४० मा दुई पटकसम्म मोबाइल फोनमा सम्पर्क गर्दा उनको फोन उठेन ।

हुन त यसअघि, एमालेका नेता समेत रहेका उप–प्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठले पनि स्वास्थ्य मापदण्ड उल्लंघन गरेर धनुषामा उत्पात मच्चाएका थिए ।

आलोचना हुँदा पनि मन्त्री महासेठले कुनै परवाह गरेनन् । महासेठले त झन् स्वागतद्वारहरू बनाएर नौटंकी गरेको आरोप छ ।

के छ कानूनी व्यवस्था ?

कोरोनाभाइरस जस्ता सरुवा रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपियाँसम्म जरीवाना हुने कानूनी व्यवस्था रहेको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ मा कसैको ज्यानलाई खतरा पु¥याउन सक्ने कुनै किसिमका संक्रामक रोग फैलाउने वा फैलन सक्ने कुनै पनि काम गर्न नहुने व्यवस्था रहेको छ ।

यदि कसैले उक्त व्यवस्थालाई उलंघन गरी नियतपुर्वक वा जानीजानी गरेको भए १० वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । लापरवाहीपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित