शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

टक्कर दिन नसक्ने भएपछि कमल थापाले धवलको बीचमै पत्ता काटे

दैनिक नेपाल २०७८ असार ५ गते १०:५०

काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केन्द्रीय विशेष समितिमा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर समेत रहेका नेता धवलशम्शेर राणालाई नराखेपछि आलोचना शुरु भएको छ ।

अध्यक्ष थापाले शुक्रबार २५ सदस्यीय केन्द्रीय विशेष समिति गठन गरेका छन् । समितिमा राणालाई राखिएको छैन ।

राणा राप्रपामा उपाध्यक्ष र महामन्त्री भइसकेका छन् । राप्रपाभित्र राणा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

कांग्रेस र कम्युनिस्टको दब्दवा रहेका बेला स्थानीय तहको निर्वाचनमा राणा शानदार मतका साथ विजयी भएका थिए ।

राप्रपाभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । राणाको सक्रियता, नेतृत्वमा दाबी र अन्य विविध कारणले अध्यक्ष थापाले विशेष समितिमा नल्याएको भनेर आरोप लागेको छ ।

अध्यक्ष थापा लगायत नेतृत्वको कार्यशैलीलाई राणाले मन पराउँदैनन् । थापासहित राप्रपा नेतृत्वको उनले आलोचना गर्ने गर्छन् । राणाको यो शैलीलाई थापाले रुचाएका छैनन् भनेर टिकाटिप्पणी हुने गरेको छ ।

विशेष समितिमा अध्यक्ष थापासहित पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, उद्धव पौडेल, गणेश शेरचन, जयन्त चन्द, ठाकुरप्रसाद शर्मा, तोरणबहादुर गुरूङ, दीपक बोहरा, ध्रुवबहादुर प्रधान रहेका छन् ।

नवराज सुवेदी, निरञ्जन थापा, निलकण्ठ काफ्ले, बिक्रम पाण्डे, बिक्रमबहादुर थापा, बुद्धिमान तामाङ, भास्कर भद्रा, भुवन पाठक, राजिव पराजुली, राजेन्द्र लिङ्गदेन, रामचन्द्र राय, रोशन कार्की, सुशीलकुमार श्रेष्ठ, श्यामप्रसाद तिमिल्सिना र हरिबहादुर बस्नेत समितिमा रहेका छन् ।

विशेष समिति पार्टी सञ्चालनको शक्तिशाली कमिटीमा मानिन्छ । राणाभन्दा जुनीयर नेताहरूलाई समितिमा राखेपछि अध्यक्ष थापाले किन अन्याय गरेका हुन् केही भनिएको छैन ।

राप्रपामा राणाले राम्रो पठक बनाएको देखेर अध्यक्ष थापा तर्सिएर विशेष समितिमा ठाउँ नदिएको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित