शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती अस्वीकृत

दैनिक नेपाल २०७८ असार ४ गते ९:२०

न्युयोर्क, ४ असार । अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेको छ ।

पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएको बीबीसीले जनाएको छ ।

ओबामाकेयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो ।

कानूनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ । पहिला नै भएका स्वास्थ्य समस्याका कारण सेवा उपलब्ध नगराउनबाट यसले बिमा प्रदायकहरूमाथि प्रतिबन्ध लगाएको छ ।

बिहीवारको फैसलाले उक्त कानुनका मुख्य प्रावधान असंवैधानिक रहेको भन्ने दाबीबारे भने जवाफ दिएको छैन । टेक्सस् र १७ वटा अरू रिपब्लिकन शासन भएका राज्यहरूले उक्त कानुनीमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले उक्त कानुन खारेज गर्ने प्रतिबद्धता जनाएका थिए । रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेका भए पनि विफल भएका थिए ।

यसै महिनाको सुरुमा ह्वाइट हाउसले ओबामा केयरमार्फत ३ करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो । बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्कर भन्छन् रिपब्लिकनको नियन्त्रण रहेको टेक्सस् राज्यको नेतृत्वमा रूढिवादी समूहहरूले एफोर्डेबल केयरसम्बन्धी कानुनलाई पूर्ण रूपमा समाप्त पार्न चाहेका थिए ।

सर्वोच्च अदालतको आरामदायी मत अन्तर सहितको निर्णयले उनीहरूको प्रयासलाई अङ्कुश लगाइदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित