भालुबाङ, २ असार । प्यूठान जिल्लामा खोलामा आएको बाढीले बगाउँदा एक ब्यक्ति बेपत्ता रहेका छन् ।
मंगलबार साँझ साढे ६ बजेतिर मल्लरानी गाउँपालिका– ३ का करिब ४१ वर्षीय हीराबहादुर बिकलाई स्थानीय छापेखोलाले बगाएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताएका छन् ।
सडक निर्माणको काम गर्ने बिकलाई काम सकेर घर जाने क्रममा मंगलबार साँझ छापेखोलाले बगाएर बेपत्ता बनाएको र खोजी कार्य जारी रहेको छ ।
रोल्पा जिल्लामा अबिरल वर्षाका कारण चारवटा घर भत्किएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा चारवटा घर भत्किएको जानकारी दिए ।
थबाङ गाउँपालिका– १ मा दुई वटा, गंगादेब गाउँपालिका वडा नम्बर १ मा एउटा र त्रिबेणी गाउँपालिका– ६ जुँगारमा थप एउटा घर भत्किएको डिएसपी सुवेदीले बताए । कुनैपनि मानवीय क्षति भने नरहेको उनले जानकारी दिए ।
अबिरल बर्षाका कारण ठाउँ ठाउँमा झरेको पहिरोको कारण दाङसंग सीमाना जोडिएका पहाडी जिल्लाहरूको आवात जावात ठप्प भएको छ ।
दाङको घोराहीदेखि रोल्पाको होरेली जोड्ने सडक खण्डको ठाउँ ठाउँमा पहिलो जाँदा मंगलबार साँझ ६ बजेदेखि सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।











प्रतिक्रिया