बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इजरायलद्वारा फेरि गाजा पट्टीमा हवाई आक्रमण

दैनिक नेपाल २०७८ असार २ गते ११:४५

लण्डन, २ असार । इजरायलले फेरि गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायलीले सेनाले बुधबार सबेरै विद्रोही समूह हमासलाई लक्षित गरी बम खसालेको हो ।

इजरायलमा नयाँ सरकार बनेको तीन दिन नबित्दै गाजामा फेरि हमला गरिएको छ । गत महिना ११ दिनसम्म इजरायल र हमासले रकेट हानाहान गरेका थिए ।

बेन्यामिन नेतन्याहू प्रधानमन्त्रीबाट बाहिरिएपछि इजरायल र प्यालेस्टाइन र हमासलाई गर्ने व्यवहारमा परिवर्तन हुने अपेक्षाबीच बुधबारको हवाई आक्रमण भएको छ ।

हमासले केही बेलुनहरू दक्षिणी इजरायलमा पठाएकाले आक्रमण गर्नु परेको इजरायलको सेनाले जनाएको छ। इजरायली सेनाका अनुसार हमास नेताहरूले बैठकका लागि प्रयोग गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको छ ।

इजरायलले हानेको बमबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । गत महिना भएको रकेट हानहानमा २ सय ५० जना प्यालेस्टाइनी र १३ इजरायलीको मृत्यु भएको थियो भने गाजामा १६ हजार बढी घर क्षति भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित