बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

यसरी देखाएका थिए ज्ञानबहादुरले औकात, ‘मा…मु’ भनेपछि रामधुलाई भेटे

दैनिक नेपाल २०७८ जेठ २९ गते १२:४२

वीरेन्द्रनगर, २९ जेठ । कथित अभियन्ताका नाममा उत्पात मच्चाउँदै आएका ज्ञानेन्द्रबहादुर शाहीसहितको समूहले आफ्नै कर्णाली प्रदेशको सुर्खेत जिल्लामा नराम्रोसँग गोदाइ खाएको छ ।

शुक्रबार राति ११ बजे ज्ञानबहादुर शाही र उनका समर्थकहरूले वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा मुखछाडेर बोलेपछि रामधुलाइ भेटेका हुन् । रक्सी सेवन गरेर मोटरसाइकलमा आउने क्रममा जथाभावी बोलेपछि रामधुलाई भेटेको प्रत्यक्षदर्शी स्थानीय गाउँलेले बताएका छन् ।

ज्ञानबहादुर शाहीका समर्थकहरूलाई कुटपिट गरेको अभियोग लागेका स्थानीय ५ जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । पक्राउ पर्नेमा सुजन सारु मगर, ललित गाह, टंक सलामी, घनश्याम सलामी र नवराज गिरी रहेको एसपी भट्टले बताए ।

एसपी भट्टले भने, ‘ज्ञानेन्द्रबहादुर शाही र उहाँहरूका समर्थकलाई कुटपिट गरेको अभियोग लागेका ५ जना स्थानीय युवाहरूलाई पक्राउ गरेका छौँ । अनुसन्धान हुँदैछ । के भएको रहेछ थप अनुसन्धानपछि भन्ने छौँ ।’

एसपी भट्टले झडपका विषयमा थप कुरा गर्न मानेनन् । उनले भने, ‘अनुसन्धानका क्रममा रहेकाले धेरै बोल्न मिल्दैन ।’

झडपका क्रममा रहेका एकजना प्रत्यक्षदर्शीले ज्ञानेन्द्रबहादुर शाही आउन लागेको बारेमा कसैलाई पनि जानकारी नरहेको बताएका छन् । ज्ञानबहादुर शाहीलाई आक्रमण गर्नुपर्ने कुनै कारण नरहेको ती प्रत्यक्षदर्शीले बताए । ज्ञानबहादुर शाहीका समर्थकहरूले ‘मा…मु’ भनेर अपशब्द बोलेपछि झडप भएको र पहिला ज्ञानबहादुर शाहीकै समर्थकहरूले हेलमेटले हानेर झगडा गरेको बताइएको छ ।

‘दुइटा मोटरसाईकल र दुइटा गाडीमा ज्ञानेन्द्रबहादुर शाही आउनुभएको रहेछ । अगाडि–अगाडि दुइटा मोटरसाइकल आएका थिए’, ती प्रत्यक्षदर्शीले भने, ‘मोटरसाइकलमा आएका ती युवाहरूले विभिन्न अपशब्दहरू बोल्दै आएका थिए । को हो अपशब्द बोल्ने भनेर हेर्न जाँदा मोटरसाइकलको पछाडि बसेको व्यक्तिले हेलमेटले हानेपछि विवाद भएर झडप भएको थियो । मोटरसाइकलमा आएका केटाहरूले रक्सी खाएका थिए ।’

मोटरसाइकलमा चढेर आएका शाहीका समर्थकले स्थानीय युवालाई तोरीको फूल देख्ने गरेर हिर्काएपछि कुटाइ खाने स्थानीय युवा थचक्क भुइँमा बसेको ती प्रत्यक्षदर्शीले बताए । कुटाइ खाएर भुइँमा बसेका युवा जुरुक्क उठेर आफूलाई हिर्काउने युवालाई दनक दिएका थिए । त्यसपछि शुरुमा कुटाइ खाने स्थानीय युवकले स्थानीय र आफ्ना साथीहरूलाई चिच्याएर बोलाएपछि ज्ञानबहादुर शाहीका समर्थकहरूले रामधुलाई भेटेको ती प्रत्यक्षदर्शीको भनाए छ ।

दुइटा मोटरसाइकल आएको २–३ मिटनपछि मात्रै ज्ञानबहादुर शाही चढेको दुइटा गाडी झडप भएको स्थानमा आइपुगेका थिए । स्थानीयले गाडीलाई पनि रोक्ने क्रममा स्थानीयले ड्राइभर र मोटरसाइकमा चढेर आएका र अपशब्द बोलेका युवाहरूलाई कुटपिट गरेका थिए ।

ज्ञानबहादुर शाहीलाई स्थानीय चिनेका पनि थिएनन् । चिने पनि अपशब्द बोलेपछि स्थानीय छाड्ने कुरा रहँदैन थियो ।

ज्ञानबहादुर शाही र उनका सार्थमकलाई कुटपिट गरेको भनेर आरोप लागेका ५ जना युवकहरू मजदुरी गरेर खाने स्थानीय युवा हुन् । ज्ञानबहादुर शाहीको नाम पक्राउ परेका ती युवाहरूले कहिल्यै पनि नसुनेको बताइएको छ ।

‘ती युवकहरू रातिको खाना खाएर घरको आँगनमा बसिरहेका थिए । उनीहरू (ज्ञानबहादुर शाही)का समर्थकहरू मोटरसाइकलमा कराउँदै र ‘मा…मु’ भन्दै आएका थिए’, प्रत्यक्षदर्शीले भने, ‘घरको पेटीमा बसेका मध्ये एउटा केटा गएर को हो गाउँमा अपशब्द बोल्ने ? किन यस्तो कुरा गर्छौ भनेर रोके थिए । बाइक चलाउनेको पछाडि बसेकोले हलमेट बोकेको थियो । मोटरसाइकल चलाउनेले हेलमेट लगाएको थिएन ।’

‘हेलमेटले स्थानीय युवकलाई हन्यो । ज्ञानबहादुर शाहीका समर्थकले हिर्काएपछि स्थानीय युवक थचक्क बसेँ । त्यसपछि उठेर हिर्काए । ती युवकले गुहार माँगे । अरु बसेका साथीहरू पनि आए । गाउँले पनि आए । त्यसपछि दुबै पक्षबीच हानाहान भयो ।’

स्थानीय युवकहरूसँग रामधुलाई भेटेका ज्ञानबहादुर शाही र उनका समर्थकहरूलाई सामान्य चोटपटक लागेको थियो । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल उपचार भएको थियो । अस्पतालका चिकित्सकहरूले शनिबार बिहानै ज्ञानबहादुर शाही र उनका समर्थकहरूलाई डिस्चार्ज गरिदिएको छ । तर, शाही अस्पतालमा बसेर प्रहरी, प्रशासनविरुद्ध आफू निकटका अनलाइन र युट्युबमा रंगीचंगी समाचार लेखाउन व्यस्त छन् ।

ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाइँमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

स्थानीय युवाहरूलाई अपशब्द बोलेर पहिला कुटपिट गर्ने ज्ञानबहादुर शाहीका समर्थकहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गरेर कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

‘ज्ञानबहादुर शाहीले मिडियो परिचालन गर्न सक्नु हुन्छ । बोल्न जान्नु हुन्छ । हामीलाई अपशब्द बोलेर अपमान गर्न पाइँदैन’, स्थानीयहरूले भनेका छन्, ‘दोषीलाई कारबाही हुनुपर्छ । तर, कसको दोष छ ? प्रहरीले सत्यतथ्य छानविन गर्नुपर्छ ।’

ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा प्रहरी र प्रशासन तथा स्थानीय युवाहरूलाई तथानाम गाली गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । अस्पतालका नर्सहरूलाई पनि ज्ञानबहादुर शाहीले धम्काएका छन् । चिकित्सकहरूलाई पनि धम्काएका छन् । ज्ञानबहादुर शाहीद्वारा परिचालित केही युट्युवहरूले एकतर्फी रुपमा भिडियो हालेर स्थानीय सर्वसाधारणको मानमर्दन गरेको भनेर आलोचना भएको छ ।

ज्ञानबहादुर शाहीसँग घटनाका बारेमा जानकारी लिन फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । एसएमएसको जवाफ पनि दिएका छैनन् ।

‘म ज्ञानेन्द्र शाहीलाई चिन्दैनन् ? म को हुँ भन्ने थाहा छैन’, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गर्ने क्रममा ज्ञानबहादुर शाहीले भनेका छन् । ज्ञानबहादुर शाहीले दम्भ देखाउँदै प्रमुख जिल्ला अधिकारीलाई धम्काएका छन् ।

ज्ञानबहादुर शाही को हो र ? सबैले अनिर्वाय चिन्नुपर्ने ? कुनै जनप्रतिनिधि होइनन् ज्ञानबहादुर शाही । जहाँ पनि गएका छन् ज्ञानबहादुर शाहीले राम्रो काम गर्नेभन्दा पनि विवाद र बखेडा गर्ने गरेका छन् । ज्ञानेबहादुर शाहीले चढ्ने गाडी र उनको बिलासी जीवनका बारेमा समेत प्रश्न उठ्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित