बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अस्ट्रेलियाविरुद्ध नेपालले युवा खेलाडी उतार्ने, जोर्डनसँगको खेलमा पेनाल्टीको असर

दैनिक नेपाल २०७८ जेठ २७ गते १६:२३

काठमाडौं, २७ जेठ । फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध युवा खेलाडी उतार्ने भएको छ ।

कुवेत सिटीमा भोलि शुक्रबार राति पौने १० बजेदेखि हुने अस्ट्रेलियासँगको खेलमा युवा खेलाडीलाई अवसर दिने रणनीति अनुसार यस्तो तयारी गरिएको नेपाली राष्ट्रिय फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एशियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ । प्लेअफबाट एशियन कपको तेस्रो चरण पुग्न पर्ने अवस्थामा पुगेको नेपाली टीमका प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा मौका नपाएका युवा खेलाडीलाई अस्ट्रेलियाविरुद्धको खेलमा मौका दिने बताएका हुन् ।

अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने भए पनि युवा खेलाडीलाई खेल्ने मौका दिनुपर्ने उनको भनाइ छ ।

यसैबीच यसअघि भएको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ । सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले ३–० को हार बेहोरेको हो । यो हारको कारण जोर्डनका खेलाडीले खेलको २३औं मिनेटमा पेनाल्टीको अवसर पाउनु रहेको प्रशिक्षक अलमुताइरीको बुझाई छ ।

सोही पेनाल्टीपछि खेलमा सबै कुरा परिवर्तन भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित