शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

संक्रमण जितेपछि पोलिस नागरिकले भने– नेपालमा पनि युरोपस्तरको अस्पताल रहेछ

दैनिक नेपाल २०७८ जेठ २७ गते १५:२३

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्याण्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो ।

शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरियो । कोभिड १९ को संक्रमण पुष्टि भयो । उनीसँगै उनको टीमका ३ जनामा संक्रमण देखियो । अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था भने जटिल बन्दै गयो । स्वयम् उनलाई पनि आफू बाँच्छुजस्तो लागेको थिएन रे !

‘नेपालमा युरोपमा जस्तो स्वास्थ्य सेवा नपाइएला, अब यतै मर्नुपर्ने अवस्था बन्ने भयो भन्ने लागेको थियो,’ बुधबार स्वदेश फर्किनुअघि थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्जको कागजात बुझ्दै टोमास्जले भने, ‘तर, यहाँ पनि यूरोपका झै स्तरीय अस्पताल रहेछन् ।’

उनले आफूले हचुवाको भरमा नर्भिक अस्पतालको सेवालाई यूरोपका अस्पतालले दिने सेवासँग तुलना नगरेको पनि प्रष्ट्याए । ‘मैले यो कुनै कथा भनिरहेको छैन, यो यथार्थ हो,’ उनले भने, ‘नर्भिकको मेडिकल प्रोसेड्यूर र सेवा यूरोपकै जस्तै रहेछ । मैले यहाँ बस्दाका प्रत्येक प्रोसेड्यूरको विषयमा यूरोपस्थित मेरा निजी चिकित्सकहरूलाई जानकारी गराउने गरेको थियो, उनीहरूले पनि नर्भिकको मेडिकल प्रोसेड्यूर चेक गरे । नर्भिकका डाक्टरहरूलाई पनि यूरोपका मेरा डाक्टरहरूसँग निरन्तर सम्पर्क गराएका थिए । सो क्रममा मेरा निजी डाक्टरहरूले नै पनि ‘नर्भिकको सेवा तथा उपचार प्रक्रिया यूरोपको जस्तै रहेको’ भनेका छन् ।’

कोभिड संक्रमणबाट ग्रस्त भई गम्भीर बनेका उनी करिब एक महिना लामो उपचारपछि ठीक भएका हुन् । अस्पतालका डाक्टरहरूका अनुसार नर्भिक ल्याइपुर्याउँदा उनको अवस्था निकै जटिल थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो । उनले नर्भिक अस्पतालबाट विदा हुँदै गर्दा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकमा समेत युरोपकै स्तरको स्वास्थ्य सेवा रहेकोमा खुशी प्रकट गरे । नर्भिकका डाक्टर तथा नर्सहरूको व्यवसायिकता, मीठो बोलीबचन र हसमुख व्यवहारको समेत उनले खुलेर प्रशंसा गरे ।

‘यहाँका डाक्टरहरू पूर्ण व्यावसायिक रहेछन् । डा. शैलेन्द्र र डा. ऋतिका लगायतको सेवा निकै प्रोफेसनल लाग्यो,’ उनले थपे, ‘नर्सहरू समेत कोमल हृदयका र सहयोगी भावना बोक्ने रहेछन् । उनीहरूको मुस्कान त झनै राम्रो ।’

प्रतिक्रिया
सम्बन्धित