
पोखरा, २७ जेठ । नेकपा एमाले गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकमा छलफलमा सहभागी हुँदै सचेतक अधिकारीले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिँदा अस्थिरता निम्तिे बताएका छन् । प्रदेशको सत्ता सञ्चालनका लागि पाँच वर्षको म्याण्डेट पाएको दललाई पाखा लगाएर वैकल्पिक सरकार निर्माणमा जुट्नु अस्थिरता निम्त्याउनु भएको उनको भनाइ छ ।
प्रदेशसभाको जारी बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै अधिकारीले संघीय सरकारमा भएका विवादको हल प्रदेश सरकारमा खोज्न नहुनेमा जोड दिएका छन् । ‘संघीय सरकारको रिस गण्डकी सरकारमा फेर्न मिल्दैन,’ उनले भने, ‘केपी ओलीसँग कुरा मिलेन भनेर पृथ्वीसुब्बा गुरुङसँग रिस फेर्नु राम्रो होइन । यसले अस्थिरता निम्त्याउँछ ।’
विपक्षी दलहरूले काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढेको भन्दै अधिकारीले गण्डकीका जनताले कांग्रेसलाई मुख्यमन्त्री बनाउने म्याण्डेट नदिएको दाबी समेत गरेका छन् । जनताको म्याण्डेट कांग्रेसलाई मुख्यमन्त्री बनाउने नरहेको भन्दै अधिकारीले माओवादी अप्राकृतिक गठबन्धनका लागि तयार भएको आरोप समेत लगाएका छन् ।
‘हामी यहिँ छौं । निषेधको राजनीति सफल हुन दिँदनौँ,’ उनले भने ।















प्रतिक्रिया