काठमाडौं, २७ जेठ । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसहित अरू दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।
समसामयिक विषयमा छलफल गर्न भन्दै सभामुख सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग शुक्रबार छलफल गर्न लागेका छन् । सभामुख सापकोटाले छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई पत्र नै पठाएका छन् ।
सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।
बैठक शुक्रबार अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ । प्रतिनिधि सभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले पूर्वसभामुख र कानून व्यवसायीसँग यसअघि छलफल गरेका थिए ।











प्रतिक्रिया