बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कञ्चनपुरमा हट्यो एसएसबीको अवरोध

दैनिक नेपाल २०७८ जेठ २६ गते २०:०६

फाइल तस्बिर

कञ्चनपुर, २६ जेठ । दोधारा चाँदनी नगरपालिकाको सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ ।

दुवै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।

भारतीय एसएसबीले सुन्दर नगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो । सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दर नगरमा छलफल गरी विवाद हल गरेका हुन् ।

बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी रहेका थिए । छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ । दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ ।

एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ । अधिकारी परिवारले भने जग्गाधनी पुर्जा भएर खेतीपाती गर्दैै आएको बताएका छन् ।

गत वर्ष सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिकलाई दशगजा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भएपनि भारतीय एसएसबीले सिधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताए ।

यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दर नगरमा दसगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनाव उत्पन्न भएको थियो ।

यसैगरी, भीमदत्त नगरपालिका—९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथ स्थित कल्भर्ट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित