जनकपुर, २६ जेठ । प्रदेश २ मा नयाँ सत्ता समीकरणको कसरत शुरु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूह, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नयाँ सत्ता समीकरणको कसरत सुरु भएको हो ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा रहेको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी पनि हुने भएको छ ।
महन्थ ठाकुर–राजेन्द्र महतो समूह केन्द्रमा केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि असन्तुष्ट बनेको जसपाको उपेन्द्र यादव समूह प्रदेश २ को सत्ता समीकरणका लागि ३ दिनदेखि कसरमा छ ।
जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव आफैं तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा रहनुभएको छ ।
मुख्यमन्त्री राउतले महन्थ ठाकुर समूहका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट पदमुक्त गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गर्न लागेको छ । सत्ता साझेदारीका लागि कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछन् ।
प्रदेश २ सरकारमा भएका ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालय बनाइँदै छ ।
दलहरूबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गरेका छन् । मन्त्रालय बाँडफाँटबारे दलहरूबीच छलफल भइरहेको छ ।











प्रतिक्रिया