
काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित, पोसिलो र स्वच्छ खाना उपभोग गरी व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणमा अपिल गरेका छन् ।
विश्व खाद्य स्वच्छता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले नागरिकको खाद्य अधिकार र स्वास्थ्य सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै निरोगीताका लागि यस्तो अपिल गरेका हुन् । नागरिक निरोगी रहुन् भन्ने उद्देश्यअनुरुप नै सरकारले खाद्यवस्तु स्वच्छताका लागि ‘निरोगी नेपाल’को अवधारणा अघि सारेको समेत प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकारले गुणस्तरीय खाद्य पदार्थ उपलब्धताको सुनिश्चितताका लागि काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले आयात गरिएको खाद्य वस्तुको नियमनलाई प्रभावकारी बनाउन छिटो छरितो र भरपर्दो रुपमा परीक्षण गरी प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाउन सरकारले पहल गरिरहेको बताएका छन् ।
‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’भन्ने नारासहित आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता सन् २०१९ देखि हरेक वर्ष विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ ।















प्रतिक्रिया