
काठमाडौं, २३ जेठ । नेपाल आदिवासी जनजाति महासंघ आदिवासी राउटे समुदायका दुई युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनाप्रति ध्यानाकर्ष भएको जनाउँदै दोषीलाई कडा कारबाही र सम्बन्धित तस्वीर तथा भिडियो हटाउन सरकारसँग माग गरेको छ ।
आयतबार एक वक्तव्य जारी गर्दै महासंघले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य भएको तथा अझ यौन हिंसा चरम मानव अपराध भएको बताउँदै घटनाका दोषीप्रति कारबाही गर्न माग गरेको हो । ‘मञ्जुरीबिना तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटेलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुर्व्यवहार गर्नेजस्ता कार्यहरू घृणित मानवताविरोधी र अक्षम्य कार्य भएको महासंघको ठहर छ ।
‘असंवेदनशील, गैरन्यायिक कार्य गर्नेहरूमाथि समेत सम्बन्धित निकायहरूबाट कारबाहीका लागि आवश्यक अनुसन्धान अगाडि बढाउन र उनीहरूको स्वतन्त्रपूर्वक जानकारी, मञ्जुर र स्वीकृतिविना सार्वजनिक भएका भिडियो, तस्वीरहरूलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबमोजिम हटाउन समेत विशेष आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएो छ, ‘घट्नामा सङ्लग्न होटेल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा सङ्लग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा भन्दा कडा कारबाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरू तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई महासंघ जोड्दार आग्रह गर्दछ ।’
विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नहोस् भनेर महासंघले सचेत समेत गराएको हो ।
‘लेकवेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय आफ्नो जीवनपद्धतिअनुसार गुर्भाकोट नगरपालिका–११, आँपसोती जनैघाटस्थित भेरी नदीमा पछिल्लो समय बसाईं सरेका थिए/हुन् । बेला–बेलामा राज्यसरकारका संयन्त्रहरू र विभिन्न संघसंस्थाहरूबाट राउटे समुदायको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार, आफ्नो विश्व दृष्टिकोण र जीवनपद्धतिबमोजिम घुमन्ते जीवन जिउन पाउने अधिकारको समेत हनन् हुँदै आएको छ । त्यसैगरी, उनीहरूको जीवनपद्धतिको आधारभूत ज्ञान नै नराखी पछिल्लो समय सामाजिक सञ्जाल, युट्युव, टिकटक र फेसबुकमा समेत उनीहरूको तस्वीर, भिडियो सार्वजनिक गर्दै दुर्व्यवहारपूर्ण कार्यहरू भइरहेका थिए/छन्,’ महासंघका अध्यक्ष जगतबहादुर बरामद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ ।















प्रतिक्रिया