बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

नेपालद्वारा चिनियाँ ताइपेईमाथि प्रभावशाली जित

दैनिक नेपाल २०७८ जेठ २१ गते ६:४०

काठमाडौं, २१ जेठ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।

जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको छ ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे । यसका लागि उनले नजिकको दूरीबाट चलाखीपूर्ण उत्कृष्ट गोल गरे र यसका लागि सुमन अर्यालले सटिक क्रस मिलाएका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो ।यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ । चिनियाँ ताइपेईको भने छनोटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ । चिनियाँ ताइपेईले दोस्रो हाफमा नेपाललाई केही दबाबमा राख्न सके पनि निर्णायक सावित आक्रमण भने बुन्न सकेन ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए । दोस्रो लेगमा भने ताइपेईका खेलाडी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो ।

यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । अब नेपालले विश्वकप छनोटका बाँकी खेलमा जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित